कैलाली। कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३ सय ५६ परिवारको विचल्ली भएको छ। गत साउनमा आएको पहिरोका कारण विस्थापित ती परिवारहरुको पुनस्र्थापना हुन नसकेपछि परिवारको विचल्ली भएको हो। अहिले उनीहरु एक वर्षदेखि चुरे गाउँपालिकाको वडा नम्बर ४ स्थित राष्ट्रिय वन क्षेत्रमा अस्थायी टहरो निर्माण गरेर त्रिपालमुनि बस्दै आएका छन्। गत वर्षको साउनमा आएको पहिरोले दुई सयभन्दा बढी परिवार विस्थापित भएका थिए। त्यसपछि कात्तिकको बेमौसमी वर्षाको क्रममा पुनः पहिरो खस्न थालेपछि विस्थापित हुनेको सङ्ख्या झन थपिएको थियो।
पनेरु गडा र ताग गडामा बसिरहेका पहिरो प्रभावित परिवार तथा विस्थापित वर्षा याममा कष्टकर जीवन जीउन बाध्य भएका छन् । गाउँपालिकाले गतवर्ष त्रिपाल सहयोग गरेको भएपनी कुनै सहयोग गर्न सकिएको छैन । विस्थापित भएका पहिरो प्रभावितहरु पुरानै स्थानमा फर्कन सक्ने सम्भावना नरहेको चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए। उनीहरुको पुरानो थातथलोलाई पहिरोले तहसनहस पारिसकेको छ। कतिपय गाउँको जमिन नै भासिएको जनाइएको छ। विस्थापित परिवारले आफूहरुको सुरक्षित स्थानमा पुनस्र्थापना गरिनु पर्ने माग गरेका छन्। पहिरोले जग्गाजमिन नै तहसनहस पारिसकेकाले पहिलेको ठाउँमा फर्कन नसकिने वडा नम्बर ६ का पहिरो पीडित पूर्णबहादुर कार्कीले बताए। विस्थापित परिवार धेरै रहेकाले उनीहरुको व्यवस्थापन गर्न नसक्ने गाउँपालिकाको कार्यालयले जनाएको छ। वडा नम्बर १, २, ४, ५ र ६ का करिब तीन हजारको हाराहारीमा मान्छे विस्थापित भएको जनाइएको छ । उनीहरुको व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारलाई गुहारेको गाउँपालिकाका अध्यक्ष बोगटीले बताएका छन्। व्यवस्थापनका लागि प्रदेश र सङ्घ सरकारलाई आग्रह गरेको बताइएको छ ।