दार्चुला। दार्चुला महाकाली नगरपालिकाको शहरी स्वास्थ्य इकाइ थाप्लामा तालाबन्दी गरिएको छ । करार कर्मचारीबाट हटाएको भन्दै स्वास्थ्य इकाइमा कार्यरत कार्यालय सहयोगी दिपेन्द्र सिंह ठगुन्नाले शुक्रवार बिहान देखी तालाबन्दी गरेका हुन् । नगरपालिकाले साउनदेखि कार्यालयमा हाजिरी लगाउन नदिएकाले तालाबन्दी गरिएको उनले बताए ।
ठगुन्नाका अनुसार स्वास्थ्यको भवन निर्माण गर्दा आफ्नो परिवारले उक्त स्वास्थ्य इकाइलाई जग्गादान गरेको र एक जना घरको सदस्यलाई कार्यालय सहयोगी बनाउने भन्ने लिखित सम्झौता भएकोमा अहिले नयाँ आर्थिक वर्षमा करारको लागि थप सम्झौता नगरेको हुदा मूल ढोकामा ताला लगाएको हो । ‘शहरी स्वास्थ्य इकाइ थाप्लाका कार्यालय सहयोगीे ठगुन्नाले भने, ‘म जग्गादाता पनि हु, एउटा राजनीतिक आस्थाका आधारमा नवनिर्वाचित स्थानीय सरकारले करार कर्मचारीबाट हटायो ।’स्वास्थ्य जस्तो संवेदनसील क्षेत्रका कर्मचारीकोसमेत राजनीतिक आस्थाका आधारमा करार सेवा अवधि नथपि हटाएको उनले बताए ।
स्वास्थ्य इकाइ बन्द हुदा त्यहाँबाट सर्वसाधारण बिरामीले सेवा पाएका नसकेको गुनासो आएको छ । स्वास्थ्य इकाइमा तालाबन्दी गरिएपछि कार्यालय सहयोगी दिपेन्द्र सिह ठगुन्नालाई शनिवार छलफलका लागि नगरपालिकाको कार्यालयमा बोलाइ नगरप्रमुख नरसिंह चैसिरले नगरपालिकाले कार्यविधि बनाएको तथा कार्यविधि अनुसार पछि प्रक्रृयागत रुपमा करार सम्झौता थप गर्ने भन्ने आश्वासन दिइएको बु्झिएको छ । साथै कार्यालयमा पूर्ववत रुपमै कामकाज गर्न निर्देशन दिएपछि भोलि कार्यालय समयमा ताला खोल्ने मौखिम सहमति भएको छ ।