दार्चुला। दार्चुला प्रहरी चौकीमा न्याय माग्न पुगेका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने जनाइएको छ । दार्चुलामा पारिवारिक विषयको उजुरी लिएर न्यायका लागि गोकुलेश्वर प्रहरी चौकीमा पुगेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चक्र कार्की प्रहरीबाट कुटिएका हुन् ।
कार्की मंगलबार गोकुलेश्वर प्रहरी चौकीमा कुटपिटमा परेका हुन्। न्यायका लागि दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिन पुगेका व्यक्ति नै प्रहरीद्वारा कुटिएको घटनामा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी मोहन आचार्यले घटनालाई गम्भीर रूपमा लिएको भन्दै छानबिनका लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय दार्चुलालाई निर्देशन दिइसकेको बताए ।‘हामीले घटनाबारे छानबिन गर्न समिति गठन गर्न भनेका छौँ’ उनले भने ‘दोषी देखिएकाहरू कारबाहीमा पर्छन् ।
’ प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षकको नेतृत्वमा छानबिन समिति समेत गठन भइसकेको छ । उक्त समितिको प्रतिवेदनका आधारमा आफ्नै कार्यालयमा सर्वसाधारण कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुनेछ, उनले भने। गोकुलेश्वरस्थित प्रहरी चौकीका इन्चार्ज इन्सपेक्टर सुरजबहादुर सिंहले आफूलाई दुई झापड हानेको त्यसपछि अरु प्रहरीसहित पाइपले तिघ्रा र पैतालामा नीलडाम हुने गरी कुटेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए । बोगटीले घाउ केस फारम भरी पाऊँ भन्दै गोकुलेश्वर प्रहरी चौकीमा बुझाएको पत्रमा पनि उनले त्यो उल्लेख गरेका छन् । बिहीबार प्रहरीको कुटाइबाट कार्की घाइते भएपछि आक्रोशित स्थानीयले चौकीसमेत घेराउ गरेका थिए।

