कैलाली। कैलालीको कैलारी गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क रुपमा विद्युत मिटर वितरण गरेको छ। कैलारी गाउँपालिकाले १५४ विपन्न परिवारलाई निःशुल्क रुपमा विद्युत मिटर उपलब्ध गराएको हो । बुधबार विहान एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले विद्युत मिटर हस्तान्तरण गरेका थिए। सो क्रममा गाउँपालिकाका अध्यक्ष चौधरीले गाउँपालिकामा धेरै विपन्न परिवारले विद्युत मिटर जडान गर्न नसकेको बताए।
उनले भने, एक वडामा कम्तीमा पनि १०/१२ विपन्न घर परिवारले विद्युत मिटर जडान गर्न नसकेको अनुमान गरेर हामीले सोही अनुसार मिटर माग गरेका थियौं’।उनले भने, यसले विपन्न परिवारलाई केही राहात हुन्छ। विद्युत मिटर वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बम, वडा अध्यक्षहरु, सामाजिक विकास शाखा प्रमुख एवम् सूचना अधिकारी यगम कलेल, योजना शाखा प्रमुख सन्तोषकुमारी चौधरीसहित गाउँपालिकाको कर्मचारी लगायतको उपस्थिति रहेको थियो। गाउँपालिकाले निःशुल्क रुपमा विद्युत मिटर वितरणका लागि विपन्न परिवारबाट निवेदन माग गरेको थियो।


