दार्चुला। भारतले महाकाली नदीमा लगाएको अस्थायी बाँध हटाउने भएको छ । गत अप्रिलमा भारतले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणका क्रममा नदीको बहाव फर्काउन अस्थायी बाँध (तारजालीसहितको पर्खाल) लगाएको थियो । तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको तथा नदीमा पानीको बहाव बढ्दै गएकाले अस्थायी बाँध हटाउन भारतको पिथौरागढ जिल्लाका डीएम आशिस चौहानले ठेकेदारलाई निर्देशन दिएका हुन् ।
उक्त अस्थायी बाँध साँझसम्म हटाइ सक्ने बताइएको छ ।आइतबार उक्त बाँध हटाउनेबारे दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र भारत पिथौरागढ जिल्लाका एसडीएम नन्दन कुमारबीच छलफलसमेत भएको थियो ।भारतले एकतर्फी रुपमा नदीको बहाव नेपालतर्फ फर्काउन बाँध बाँधेको भन्दै खलंगा, बांगाबगडका स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई ज्ञापन बुझाएका थिए ।


