कञ्चनपुर। कञ्चनपुरको एक विद्यालयको गेटमै एमालेले पार्टीको नाम लेखेपछि विवाद सिर्जना भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा रहेको उदयदेव माध्यमिक विद्यालयको गेटमा नेकपा एमालेले आफ्नो नाम लेखेपछि विवाद सिर्जना भएको हो।
एमालेको वडा कमिटीले विद्यालयको गेट बनाइदिएर पार्टीको नाम लेखेको थियो।विद्यालयको गेट एमाले बेदकोट–९ को कमिटीले शनिबार बनाएको थियो। बिदाको दिन परेको हुनाले विद्यालय प्रशासनलाई पार्टीको नाम लेखिएको बारेमा जानकारी नभएको प्रधानाध्यापक मोहन जोशीले बताए। त्रुटि भएको भन्दै पार्टीको नाम हटाएर ल्याउन निर्देशन दिएको पनि प्रधानाध्यापक जोशीले बताए । एमालेले विद्यालयको गेटमा पार्टीको नाम लेखेपछि शिक्षक, विद्यार्थी र अन्य दलका प्रतिनिधिले आलोचना गरिरहेका छन् ।


