कैलाली। कैलालीको कैलारी गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को सार्वजानिक सुनुवाई तथा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेको हो। कैलारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजनामा गाउँपालिकाले सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका योजनाहरु र आगामी आर्थिक वर्षका योजनाहरु सार्वजनिक गरेका थिए। चालु आर्थिक वर्षमा गाउँपालिकाको वित्तिय प्रगतिअनुसार असार २५ गतेसम्म कुल निकासा रकम ६६ करोड ९० लाख ६८ हजार रुपैयाँ रहेको छ भने असार २५ गते सम्म कुलखर्च रकम ६० करोड ८१ लाख ५५ हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी कलेलले बताए।
सामाजिक, आर्थिक साँस्कृतिक, पूर्वाधार विकास तथा विपद व्यवस्थापन, कैलारीवासीको जिवन रुपान्तरणका लागि समन्वय, सहकार्य तथा सुशासन भन्ने नारासहित आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी वर्षका लागि कुल ६२ करोड ७५ लाख १५ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सूचना अधिकारी कलेलले गाउँपालिकामा आगामी वर्षका लागि संघीय सरकारबाट ५४ करोड ३३ लाख १० हजार रुपैयाँ र प्रदेश सरकारबाट एक करोड ७७ लाख ६१ हजार रुपैयाँ प्राप्त भएको बताए ।
गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकासका लागि तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ भने आर्थिक विकास समितिका लागि दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। यस्तै वन वातावरण तथा विपद व्यवस्थापनका लागि दुई करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ भने सामाजिक विकासका लागि तीन करोड ९० लाख रुपैयाँ र सुशासन तथा संस्थागत विकासका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले छाडा पशुचौयाको व्यवस्थापन, तटबन्ध निर्माण, खानेपानीको व्यवस्थापन र विद्यालय व्यवस्थापनलगायतका माग राखेका थिए । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले सबै समस्याको समाधान गरेर अगाडि बढ्ने बताएका छन् । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले राखेकी थिइन् ।


