अछाम। अछाम बिनोद शाही हत्या प्रकरणमा १० जना बिरुद्ध मुद्धा दायर भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको हो। जिल्ला सरकारी वकिलको कार्यालय अछामले पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो । मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ ।
यस्तै फरार रहेका अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ । दानमति जिल्ला समन्वय समितिको उपप्रमुख हुन् । पीडित पक्षले आरोपी भनेका र पक्राउ परेका मेयर अम्बिका चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई भने अदालतमा उपस्थित गराएन। सरकारी वकिल कौशल ढुंगानाले उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै मुद्दा अघि नबढाएको अधिवक्ता कृष्ण ढुंगानाले जानकारी दिए ।
उनका अनुसार प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा घटना भएको बेला मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएकोले उनीहरु घटनामा संलग्न नरहेको प्रमाण नपुग्ने ठहर गर्दै उनीहरुमाथि मुद्दा नचल्ने निर्णय सरकारी वकिले गरेका हुन् ।गत जेठमा घरबाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए । पीडित पक्षले उनीहरु ३ सहित १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।