अछाम। जिल्ला प्रशासन अछामको निशेधाज्ञा तोड्दै सिडिओविरुद्ध प्रदर्शन गरिएको छ। अछाम पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय अछामको निशेधाज्ञाका बिच सदरमुकाम मंगलसैनमा बिरोध प्रर्दशनसहित कोणसभा गरिएको हो ।
प्रर्दशनकारीहरुले प्रशासनले जारी गरेको निषेधाज्ञाकाबीच आफन्त र स्थानीयले प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलाई निलम्बन गर्न माग गर्दै नाराबाजी र कोणसभा गरेका हुन्। कोणसभामा पीडित पक्षले प्रहरीले आरोपितहरुलाई अनुसन्धानको दायरामा ल्याउनुको सट्टा दमन गरिरहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, वैरागी धारा बस काउन्टर, मंगलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । दैनिक प्रदर्शन हुन थालेपछि प्रशासनले सदरमुकाम मंगलसेनका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गरेको थियो। सोमबार शाहीको न्यायको लागि मंगलसेन पुगेका आफन्त तथा स्थानीयहरु र प्रहरीबीच झडपको अवस्था सृजना भएपछि विभिन्न स्थानलाई निषेधित घोषणा गरिएको थियो।
ती क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन आदेश दिइएको छ। निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ।शाहीको न्यायको लागि सोमबार ५ दलीय गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिँदा १२ सुरक्षाकर्मी तथा धेरै स्थानीय घाइते भएका थिए। गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए। उनको हत्या गरिएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल विनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार रहेका छन्।