अछाम। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुनसक्ने सम्भावना रहेको बताएका छन् । नेपाल प्रेस युनियन अछामले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनेसक्ने बताएका हुन् । अहिले केन्द्रमा पाँच दलीय गठबन्धनको सरकार रहेको हुनाले गठबन्धनको भावना अनुसार मुख्यमन्त्री परिवर्तन हुन सक्ने उनले औंल्याएका हुन ।
पत्रकार सम्मेलनमा बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनेसक्ने विषयमा उनले धारणा राखे । बागमतीको मुख्यमन्त्री फेर्ने विषयमा मौखिक सहमतिअनुसार परिवर्तन हुने भन्दै त्यसैको तरङ्ग सुदूरपश्चिममा पनि पुगेको उनको दावी छ ।“मुख्यमन्त्री परिवर्तन हुने सम्भावना देखिन्छ” पत्रकार सम्मेलनमा उनले भने । सहमतिअनुसार नै यसअघि कर्णाली प्रदेशको मुख्यमन्त्री फेरिएको उदाहरण दिएका पाण्डेले सुदूर र बागमती प्रदेशका मुख्यमन्त्री परिवर्तनको बारेमा थप विषय खुलाएनन । हाल बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री छन् । बागमतीमा राजेन्द्र पाण्डे र सुदूरपश्चिममा त्रिलोचन भट्ट मुख्यमन्त्रीमा छन् ।
सरकारी गठबन्धनले एक चक्र पार गर्नुपर्ने भन्दै सहमहामन्त्री पाण्डेले दीर्घकालीन नभए पनि तत्कालिक रणनीतिको विषय बनाएर जाने उनको भनाइ छ । स्थानीय तहमा गठबन्धनका दलहरुले इमान्दारिता नदेखाएको भन्दै आगामी दिनमा प्रभावकारी बनाएर जाने भनाइ उनको छ । एमाले र माओवादी गठबन्धनभन्दा काँग्रेस र माओवादी गठबन्धन नै सही भएको धारणा राखे। संविधान र संसदीय प्रणाली बचाउन नै आफूहरुले गठबन्धन गरेको दाबी सहमहामन्त्री पाण्डेको छ । शेखर पक्षको भेलाका बारेमा पत्रकारले सोधेको प्रश्नमा पार्टी कमजोर बनाउन नभएर विधि, विधानमा हिँडाउन, सुझाव, दवावका लागि काम गर्ने भनाइ राखे ।गिरिजाप्रसाद कोइराला सभापति हुँदा वर्तमान सभापतिले समेत छुट्टै बैठक राख्ने गरेको भन्दै पार्टीको केन्द्रीय कमिटीलाई रचनात्मक सुझाव दिन अलग बैठक भएको भनाइ राखे।प्रधानमन्त्री र पार्टी सभापति एकै व्यक्ति भएकाले काममा सोचे अनुसारको प्रभावकारिता नभएको समेत उनले बताए ।जीपी फाउण्डेसन अछामद्वारा बिरामीका लागि फलफूल वितरण कार्यक्रममा समेत उनको सहभागीता थियो। सहमहामन्त्री पाण्डेको गृह जिल्ला बाजुराको बूढीगंगा नगरपालिकामा असार २३ गते हुने स्थानीय तह निर्वाचनका लागि आएका हुन्।