कैलाली। सुदूरपश्चिम प्रदेशका अठासी तहमध्ये ८५ स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। शुक्रबार प्रदेशका तिन स्थानिय तह वाहेक अन्य तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।
शुक्रबार बाजुराको बुढीगंगा नगरपालिका, डोटीको बोगटान फुडसिल गाउँपालिका र अछामको पञ्चदेवल विनायकले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन्। यस्तै बुढीगंगा नगरपालिकामा निर्वाचन नै भएको छैन। डोटीको बोगटान फुडसिल गाउँपालिकाले कार्यपालिका समितिमा अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेपछि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेन। भने अछामको पञ्चदेवल विनायक नगरपालिकामा जेठ २० गते किशोर विनोद शाही मृत अवस्थामा भेटिएपछि त्यहाँको अवस्था शान्त हुन सकेको छैन। कांग्रेसबाट मेयरमा निर्वाचित अम्बिका चलाउनेविरुद्ध हत्या गरेको आरोपमा किटानी जाहेरी दर्ता गरेका कारण पञ्चदेवल विनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेको हो ।
कैलाली- सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ८३ करोड ८९ लाखको बजेट ल्याएको छ । आठौं अधिवेशनको दोश्रो बैठकमा उपमेयर कन्दकला रानाले प्रस्तुत गरेका बजेटमा चालुतर्फ १ अब ३ करोड १९ लाख ७० हजार र पुँजीगततर्फ ८० करोड ७० लाख ६२ हजार रहेको छ । आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट चालु आर्थिक बर्षको बजेट भन्दा १ करोड ७ लाखले बढी छ । धनगढी उपमहानगरपालिकाले चालु आवमा १ अर्ब ८२ करोड ८२ लाखको बजेट पारित गरेको थियो । उपमहानगरपालिकाले आन्तरिक आयबाट २६ करोड, राजश्व बाँडफाँडबाट ४७ करोड २९ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (संघीय सरकार)बाट ९६ करोड ४८ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार)बाट ३५ करोड ३४ लाख र मौज्दातबाट १० करोड हुने अनुमान गरेको छ । उपमहानगरपालिकाले आर्थिक बिकास तर्फ १४ करोड ४२ लाख ९ ७ दशमलब ८४ प्रतिशत, सामाजिक बिकास तर्फ ७४ करोड ७८ लाख ९ ४० दशमलब ६ प्रतिशत, पुर्वाधार बिकास तर्फ ४५ करोड १० लाख ९२५ दशमलब ५३ प्रतिशत बिनियोजन गरेको छ ।
त्यस्तै कार्यालय सञ्चालनमा ४१ करोड ८५ लाख ९२२ दशमलब ७६ प्रतिशत बिनियोजन गरिएको छ । धनगढी उपमहानगरपालिकाले बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने निति लिएको छ । आव २०७९/०८० को बजेटमा बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने प्रस्ताव गरिएको छ । त्यस्तै, करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने प्रस्ताव बजेटमा गरिएको छ । खरिद प्रकृयालाई पारदर्शी बनाउँदै समयमै समयमै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक स्रोतले चालु खर्च धान्ने गरि आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने प्रतिवद्धता बजेटमा उल्लेख गरिएको छ ।धनगढी उपमहानगरपालिका पछि लम्की चुहा नगरपालिकाले १ अर्ब ३८ करोड ४४ लाख बढीको बजेट ल्याएको छ। त्यसपछिको ठूला गोदावरी नगरपािलकाल १ अर्ब २५ करोडको बजेट विनियोजन गरेको छ। सबैभन्दा कम मोहन्याल र चुरेको बजेट छ।
कञ्चनपुर-९ स्थानीय तह रहेको कञ्चनपुरको सदरमुकाम रहेको भीमदत्त नगरपालिकाले सबैभन्दा बढी एक अर्ब ८४ करोडको बजेट पारित गरेको छ। बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास र बेलौरी नगरपालिकाले ७० करोडदेखि १ अर्बको हाराहारी बजेट पारित गरेका छन्। जिल्लामा रहेका दुई वटा गाउँपालिका बेलडाँडीले ४८ करोड र लालझाडीले ५३ करोडको बजेट पारित गरेको छ।कृष्णपुर नगरपालिकाले जमिन लिजमा लएर भूमिहीन विपन्न र गरिबलाई सामूहिक कृषिमा आकर्षित गर्ने, नौ वटै वडाका स्वस्थ्य संस्थालाई स्तरोन्नति गर्नेलगायत कार्यक्रम ल्याएको छ। शुक्लाफाँटा नगरपालिकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने, कृषि उत्पादन बढाउन सिँचाइका लागि भूमिगत सिँचाइ बढाउनेलगायत कार्यक्रमहरू ल्याएको छ।
डडेल्धुरा-उता डडेल्धुराको सदरमुकामको अमरगढी नगरपालिकाले भने फरक खाले बजेट प्रस्तुत गरेको छ। कुल ६३ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको नगरपालिकाले पर्यावरण संरक्षण, नगर सरसफाइ, सुशासन र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । पर्यावरण संरक्षण र डडेलधुरालाई सुन्दर नगर बनाउने योजनाअन्तर्गत बजेट पनि त्यहीअनुसार बनाइएको नगरप्रमुख डिल्लीराज जोशीले जानकारी दिए।परशुराम नगरपालिकाले पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । ७८ करोड ४८ लाख ३४ हजार कुल बजेट रहेको परशुराम नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा विगतभन्दा पृथक् योजना छैनन्। प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरामा कुल ३८ करोड ३ लाख बजेट छ।
बझाङ- आगामी आर्थिक वर्षका लागि बझाङको जयपृथ्वी नगरपालिकाले ५५ करोड २९ लाख ८१ हजार बजेट प्रस्तुत गरेको छ । नगरसभामा उपप्रमुख रतनबहादुर सिंहले उक्त बजेट प्रस्तुत गरेका हुन् । समृद्ध जयपृथ्वी नगरपालिका निर्माणको मूल आधार, दिगो कृषि, पर्यटन, व्यापार र उत्थानशील पूर्वाधार भन्ने नारा दिएर स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण, वन वातावरण, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा उक्त रकम खर्च गरिने उल्लेख छ । एक घर एक धारा, सार्वजनिक शौचालयको निर्माण, पानीको गुणस्तर परीक्षण, ढल निकास र फोहोरबाट कम्पोस्ट मल बनाउने काम गरिने नीति कार्यक्रममा उल्लेख छ । नगरपालिकाले खेलकुद, सामाजिक सुरक्षा, पूर्वाधार विकास वन वातावरण र विपद् व्यवस्थापनका क्षेत्रमा पनि उल्लख्य बजेट विनियोजन गरेको नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीको कल्याण कोष स्थापना गर्ने, सेवाको गुणस्तर थाहा पाउन तेस्रो पक्षबाट नागरिकको सन्तुष्टिस्तर मापन गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।
डोटी- डोटीको केआईसिंह गाउँपालिकाको ४० करोड ६३ लाख बजेट प्रस्तुत गरिएको छ । यसअघि एमबीबीएस डाक्टर नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको केआईसिंह गाउँपालिकामा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्नेदेखि लिएर ५ वर्षभित्र तरकारीमा आत्मनिर्भर बनाउनेसम्मका योजना र कार्यक्रम ल्याएको छ । कृषि विज्ञान अध्ययनरत सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, कृषिमा आत्मनिर्भर बनाउने योजना उक्त पालिकाले ल्याएको छ ।जोरायल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५८ करोड ६३ लाख ८६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रवार गाउँपालिकाको १२ औँ गाउँ सभाले चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट ल्याएको हो ।अछाम- अछामका दस स्थानीय तहमध्ये नौ स्थानीय तहले बजेट प्रस्ततु गरेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकामा जेठ २० गते १५ वर्षीय किशोर विनोद शाही मृत अवस्थामा भेटिएपछि विनायकको अवस्था शान्त हुन सकेको छैन । एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप लगाएका छन् ।
कांग्रेसबाट मेयरमा निर्वाचित अम्बिका चलाउनेविरुद्ध नै हत्या गरेको आरोपमा किटानी जाहेरी दर्ता गरेका कारण पञ्चदेवल विनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेको हो । पञ्चदेवल विनायक नगरपालिकाले बजेट ल्याउने समय अन्योलमै छ । त्यस्तै चौरपाटी गाउँपालिकाले बिहीबार नै निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बाँकी ८ स्थानीय तहले शुक्रबार बजेट प्रस्तुत गरेका छन् । ७ स्थानीय तहले स्वास्थ्य, शिक्षा, कृषि तथा भौतिक पूर्वाधारमाा समान तरिकाले बजेट ल्याए पनि साँफेबगर नगरपालिकाले भने १ करोड रुपैयाँ बयलपाटा अस्पताललाई विनियोजन गरेको छ । नगरपालिकाभित्रकै अस्पताल भएको र लामो समयदेखि अस्पतालमा आर्थिक अभाव हुन थालेपछि साँफेबगर नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको हो ।
दार्चुला- जिल्लाको सदरमुकामको महाकाली नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि ६२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । ‘समृद्ध महाकाली खुसी नगरवासी’ भन्ने नारा दिएर स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण, वन वातावरण, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा उक्त रकम खर्च गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिको विकासका लागि कोल्ड स्टोर निर्माण र यसबाट बेरोजगारी समस्या समाधानका लागि विशेष ध्यान दिइने उल्लेख छ ।


