दार्चुला। यस वर्ष दार्चुलामा पहिराका कारण ५ हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । दार्चुलाका ६१ वडा मध्ये २८ वडाहरु पहिराको उच्च-जोखिममा रहेका छन् । पहिराको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको सङ्ख्या तयार पारिएको हो ।
मनसुन शुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७९ले जिल्लाका अधिकांश भूभाग पहिराबाट प्रभावित हुने तथ्याङ्क तयार गरेको हो । जिल्लाभर बाढि पहिरोका कारण ५ हजार देखि ६ हजार घरमा क्षति हुनसक्ने कार्ययोजनामा उल्लेख छ । मनसुनजन्य विपत्पछिको प्रतिकार्य पुनस्र्थापना र राहत तथा उद्धारका लागि विपत् व्यवस्थापन समितिले कार्ययोजना बनाएर काम थालेको छ ।
पूर्वानुमान अनुसार सबै तहमा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। “हामीले स्थानीय तहसँग जोखिमबारे छलफल गरेर तथ्याङ्क तयार गरेका छौँ, सोही अनुसार जोखिमसँग जुध्न सबै सरोकारवालालाई तयार रहन निर्देशन दिएका छौँ”, उपाध्यायले भने,। विपत् व्यवस्थापन समितिले कार्ययोजना पारित गरेर कार्यान्वयनमा ल्याएको छ । दार्चुलामा रहेका विभिन्न नदी तथा खोला किनारका बस्तीसमेत बाढीको उच्च जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ । “यहाँका सबै खोला किनारका तटीय क्षेत्र जोखिममा छन, विपद् व्यवस्थापन समितिले भनेको छ, “पूर्व तयारीमा खोला किनारका बस्तीहरु रहन आवश्यक छ ।” कार्ययोजनाले उद्धार राहत तथा पुनस्र्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ । जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरुले पूर्वानुमान गरेका छन् ।
स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरोपीडितको तथ्याङ्क र यस वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ । जसअन्तरर्गत जिल्लाको दुहुँ गाउँपालिकाको वडा नं २,३र५ नम्बर वडाहरु पहिराको उच्च, जोखिममा रहेका छन् । यस्तै नौगाड गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका सम्पुर्ण बस्तीहरु अपि हिमाल गाउँपालिकाको वडा नं १,२,३,४र ६ नम्बर वडा तथा महाकाली नगरपालिकाको वडा नं १ र २ वडाहरु पहिरोको उच्च जोखिममा रहेका छन । मालिकार्जुन गाउँपालिकाको वडा नं १ २ र ८ मामा गाउँपालिकाको ४ नम्बर वडा लेकम गाउँपालिकाको १,३,४,५ र ६ नम्बर वडा व्यासँ गाउँपालिकाको ३,४ र ६ तथा शैल्यशिखर नगरपालिकाको ओसिल क्षेत्रगरी २८ वडा पहिराको उच्च, जोखिममा रहेका छन् । पूर्वानुमान अनुसार जिल्लाको दुहु गाउँपालिकामा ४५० घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन । यस्तै अपि हिमाल र मार्मामा समान २०/२० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । नौगाड गाउँपालिकामा ३० परिवार व्यासँमा ९० परिवार महाकाली र मालिकार्जुनमा समान एक/एकसय परिवार शैल्यशिखरमा २५ तथा लेकमका विभिन्न वस्तीहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।