अछाम। अछामका १५ वर्षीय विनोद शाहीको मृत्युको घटनामा आरोपितलाई पक्राउको माग गर्दै प्रशासन अगाडि रिले अनसन गरिएको छ।
पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्युको घटनामा आरोपित अझै पक्राउ नगरेको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनसन सुरु गरेका हुन् । आरोपितलाई स्थानीय प्रशासनले नै संरक्षण गरेको आरोप लगाउँदै उनीहरुले रिले अनसन गरेका छन् ।
गत जेठ १७ गते राति बेपत्ता भएका शाही २१ गते घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका थिए। ३० वैशाखको स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा एमाले कार्यकर्तालाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा दोहोरो झडप भएको थियो। सोही क्रममा शाही बेपत्ता भएका थिए । त्यसपछि उनको २१ जेठमा शव भेटिएको थियो ।
पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्द्ध दिएको किटानी जाहेरी दर्ता नगरेपछि पीडित परिवारले ६ दिनसम्म शव बुझेको थिएन । हुलाकमार्फत पठाइएको जाहेरी प्रहरीले दर्ता गरेपछि मात्र शव बुझेर अन्त्येष्टि गरेका थिए। घटनाको अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)जनकराज पाण्डे र सीआईबीका प्रहरी नायब उपरीक्षक(डीएसपी) मनोहरप्रसाद भट्ट नेतृत्वको टोली खटाइए पनि अनुसन्धानमा प्रगति नभएको प्रहरीले जनाएको छ। पीडित परिवारले प्रशासन कार्यालय केन्द्रित दबावमूलक कार्यक्रम जारी रहने बताएको छ ।