धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका हुन्।
सात कारोड २३ लाख ४५ हजार रुपैयाँ लगानीमा धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो । सो क्रममा प्रधानमन्त्रीले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने बताए । कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा सो कलेजको भौतिक संरचना बनेको छ । त्यसलाई प्रतिष्ठानको रुपमा सञ्चालन गर्नका लागि क्याबिनेटबाट निर्णय गरेर आवश्यक ऐन, कार्यविधि बनाइ अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो ।
सोही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजनाको काम चाँडै अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे। यसैगरी, महाकाली कोरीडोर, खुटिया–दिपायल र सेती लोकमार्ग गरेर तीन वटै फाष्ट ट्रयाकलाई पनि प्राथमिकता दिन आग्रह गरे । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गौरीफन्टा नाकालाई कैलालीको मातहतमा गर्न, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन हिजो (शुक्रबार) कञ्चनपुर आएका थिए। त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित नौ ओटै स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा पनि प्रधानमन्त्री देउवा सहभागी भएका थिए।


