अछाम। अछामको पंचदेवल विनायक नगरपालिकामा १० दिन देखी तालाबन्दी खुल्न सकेको छैन् । अछामको पंचदेवल विनायकका १६ वर्षीय किशोर मृत भेटिएसंगै नगरपालिकामा लगाइएको तालाबन्दी १० दिन बितीसक्दा समेत तालाबन्दी खुल्न नसकेको हो ।
मृत भेटिएका नगरपालिकाको वडा नम्बर ४ कालिकास्थानका विनोद शाहीको हत्या भएको भन्दै स्थानीय तथा आफन्तहरूले जेठ २२ गते देखी नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानको वडा कार्यालयमा समेत तालाबन्दी गरिएको अवस्था छ ।
हत्यारालाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने मागसहित जेठ २२ गते नगरपालिकामा लगाइएको तालाबन्दी हालसम्म खुल्न नसकेको हो । १० दिन बितिसक्दा समेत तालाबन्दी नखुलेपछि स्थानीय नागरिक नगरपालिकाबाट प्रदान हुने सेवाबाट वञ्चित भएका छन् ।नगरपालिकाको कार्यपालिका बैठक, विभिन्न सिफारिस, योजना सम्झौता, अनुगमन र रकम भुक्तानी र आगामी आर्थिक वर्षका लागि तय गरिने नीति तथा बजेटको काम प्रभावित भएको छ । भने नगरपालिका भित्रका नौ वटैको वडाको कामकाज समेत प्रभावित बनेको छ ।
स्थानीय तथा मृतकका आफन्तको तालाबन्दीका कारण नगरपालिकामा नवनिर्वाचित भएर शपथ ग्रहणपछिको पहिलो बैठक समेत हुन नपाएको नगरका उपप्रमुख हर्कबहादुर रावलले बताएका छन् । सहमतिका आधारमा नगरपालिका र वडामा लगाइएको ताला खोल्नका लागि पहल भइरहेको उनले जानकारी दिए ।यता अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले भने स्थानीय तहबाटै तालाबन्दी खोल्नका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय तहमा सहमति नजुटेमा अन्तिममा प्रशासनको भूमिका रहने उनको भनाइ छ । स्थानीय तहमा समस्या समाधान नभए आफू सर्वदलीय बैठकबाट तालाबन्दी खोल्ने वातावरण तय गर्ने उनले बताएका छन् ।
नगरप्रमुख अम्बिका चलाउनेको योजनामा विनोदको हत्या भएको भन्दै पीडित पक्षले चलाउने सहित १३ जना विरुद्धमा जिल्ला प्रहरी कार्यालय अछाममा जेठ २५ गते किटानी जाहेरी दर्ता गरेका छन् । किटानी जाहेरीसँगै केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । किटानी जाहेरीमा नाम उल्लेख भएका सबैलाई पक्राउ नगरुन्जेल तालाबन्दी नखोल्ने मृतकका आफन्तको अडान रहेको छ ।जेठ १७ गते राती स्थानीयबिच झडप भएपछि घटनास्थलमा प्रहरी पुगेसंंगै बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाही जेठ २१ पञ्चदेवल क्याम्पस नजिकको कुच्ची भिरमा मृत अवस्थामा भेटिएका थिए ।