धनगढी। भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका–१ का ३२ वर्षीय धनबहादुर शाहको हत्या गरिएको भन्दै किटानी जाहेरी दर्ता गरिएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि परिवारले शव बुझेर कैलालीको मोहना नदीमा सोमबार अन्त्येष्टि गरेको छ ।
शव परीक्षणपछि मात्र किटानी जाहेरी लिने बताइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)वेदप्रकाश जोशीले चौतर्फी दबाबपछि जोहरी दर्ता गरेको पीडित पक्षले जनाएको छ । मृतकका भाइ नाता पर्ने बमबहादुर शाहले उनीसँगै भारतबाट फर्किएका चौरपाटी गाउँपालिका–१ का ५४ वर्षीय खडक शाह, वडा नम्बर २ बस्ने ४५ वर्षीय कृष्णबहादुर शाह र सोही गाउँपालिका–३ बस्ने ३८ वर्षीय पदमबहादुर साउदविरुद्ध किटानी जाहेरी दिइएको बताए । उनकाअनुसार मृतककी श्रीमती धनादेवी शाहले श्रीमानको हत्या भएको आशंकासहितको किटानी जाहेरी दिंदै निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कानुन अनुसारको कारवाही र क्षतिपूर्तिको माग गरेकी छन् ।
गत २६ जेठमा भारतको मुम्बईबाट किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरुसँगै फर्किएका शाह धनगढी बसपार्कस्थित एक होटलमा बसेका थिए । सोही दिन धनबहादुर बिरामी भएपछि माया मेट्रो अस्पतालबाट औषधी किनेर खुवाएका थिए तर स्वस्थ नभएपछि २७ गते पुनः सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। ठीक भएपछि अछामतिर लागेका उनीहरुले पछि फेरि धनबहादुर बेहोस भएको भन्दै सोही दिन खानीडाँडाबाट फर्किएर माया मेट्रो अस्पतालमा लगेका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।घटनाबारे मृतकका परिवारलाई ढिलो खबर गर्नुले हत्याको आशंका गरिएको छ । खासगरी भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।