धनगढी। बिद्युत अनियमित भएको भन्दै धनगढी १२ का स्थानियले धनगढीको विद्युत कार्यालय घेराउ गरेका छन्। अनियमित रुपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रको कार्यालय घेराउ गरेका छन्।
सोमबार दिउँसो धनगढी वडा नम्बर १२ को मनकामना युवा क्लवको नेतृत्वमा नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रको कार्यालय घेराउ गरेको क्लवका अध्यक्ष डबल थापाले जानकारी दिए।उनीहरुले यस्तो हाकिम चाहिदैन, बत्ती काट्न पाइदैन भन्दै कार्यालय बाहिर र भित्र नारा लगाएका थिए । उनीहरुले बिधुत सेवा सहज बनाउन माग गर्दै बिद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डललाई ध्यानकर्षण गराएका हुन्। धनगढी वितरण केन्द्रको कार्यालयमा आक्रोशित हुँदै पुगेका उनीहरुले पहलमानपुर, पवेरा, हसुलिया ग्रीडको लाइन हटाएर धनगढीबाट लायन जडान गर्नुपर्ने माग राखेका छन्।
यस्तै वडामा चौबिसै घण्टा नो लाइट सेवा उपलब्ध गराउनुपर्ने, वडाभरी आएको भोल्टेजको समस्या समाधान गर्न ट्रान्सफर्मरको व्यवस्था गर्नुपर्ने, पोल र तारको व्यवस्था गर्नुपर्ने र कृषि मिटरको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। बिद्युत बितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डालले समस्या समाधान गर्ने प्रतिबद्धता संगै धर्नामा बसेका नागरिक फर्केका छन्। स्थानीयले आफ्नो माग यथासिघ्र पूरा नभए अन्य संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।



