कैलाली। जिल्ला समन्वय समिति कैलालीको निर्वाचनको मतदान सुरु भएको छ। कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार आज बिहान ७ बजे देखी मतदान सुरूहुने भनिएपनी आधाघण्टा ढिलागरी मतदान सुरु भएको हो ।
दिउँसो १ बजेसम्म मतदान गरी सक्ने समय रहेको र मतगणना पनी आजै हुने मुख्य निर्वाचन अधिकृत पनेरुले बताए ।निर्वाचन कार्यालयका अनुसार पहिलो भोट गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले हालेका छन्।
कैलाली जिल्लामा १३ पालिकाका २६ जना मतदाता रहेकोमा भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको छ। जिसस कैलालीको निर्वाचनमा २५ जनामध्ये सत्ता गठबन्धन (काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी)का १२ जना छन्। अर्कोतर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ। यस्तो अवस्थामा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा निर्णायक हुने देखिएको छ। जिससको प्रमुख पदमा नेपाली काँग्रेसका पदम कलेल र नागरिक उन्मुक्ती पार्टीका ईन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन भने उप–प्रमुख पदमा नेकपा एमालेका राजेन्द्र प्रसाद खनाल र नेकपा माओवादी केन्द्रका खगराज भुषालको उम्मेदवारी दिएका छन ।
तर, कैलालीको मोहन्याल गाउँपालिकाका निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगले मताधिकारको प्रयोग गर्नबाट वञ्चित हुने गरी आइतबार मात्रै निर्देशनसहितको पत्र पठाएको छ । माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय भ्रष्टाचार मुद्दामा छानबिनको सूचिमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा नराख्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो। अख्तियारको पत्रका आधारमा निर्वाचन आयोगले मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्यायलाई मुद्दा किनारा नलाग्नसम्म निलम्बनमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा काम गर्न नदिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।