कैलाली। लागु औषध सहित कैलाली प्रहरीले जेठ २४ गते पक्राउ गरेकाहरुबाट थप लागु औषध पक्राउ परेको छ । प्रहरीले कञ्चनपुर पुनर्वास नगरपालिका – १ बस्ने ४२ बर्षीय डब बहादुर तामाङ, सोही ठाउँ बस्ने ४० बर्षीय कान्छा बहादुर तामाङ, २८ बर्षीय अन्जु सार्की तामाङ र धनगढी उप–महानगरपालिका – २ बस्ने २५ बर्षीय हेम खत्रीलाई लागु औषध सहित पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुमाथी मुद्दा दर्ता गरी अनुसन्धान गर्ने क्रममा डब बहादुर तामाङ र अन्जु सार्की तामाङ बस्ने पुर्नवास नगरपालिका – ३ स्थित डेरा कोठामा खानतलासी गर्दा १५० ग्राम लागु औषध (हेरोईन),१ लाख ६४ हजार ४ सय नगद, नाप तौल गर्न प्रयोग हुने डिजिटल तराजु १, कैची, पुडिया बनाउन प्रयोग हुने धागो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तो छ प्रहरी बिवरण:
मिति २०७९।०२।२४ गते जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं १ बस्ने वर्ष ४२ को डब बहादुर तामाङ, ऐ.ऐ बस्ने वर्ष ४० को कान्छा बहादुर तामाङ, ऐ.ऐ बस्ने वर्ष २८ की अन्जु सार्की तामाङ र जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं २ बस्ने वर्ष २५ को हेम खत्री समेतको साथबाट लागु औषध (हेरोईन) बरामद गरी मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा मिति २०७९।०२।२७ गते निज प्रतिवादी डब बहादुर तामाङ र अन्जु सार्की तामाङ बस्ने गरेको जिल्ला कञ्चनपुर पुर्नवास नगरपालिका वडा नं ३ स्थित डेरा कोठाको खानतलासी गर्ने क्रममा यस कार्यालयबाट खटिई गएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरको प्रहरी टोलीले निजहरुको डेरा कोठाबाट थप १५० ग्राम लागु औषध (हेरोईन), नेपाली नगद रु.१,६४,४००।-, नाप तौल गर्न प्रयोग हुने डिजिटल तराजु थान १, कैची थान १, पुडिया बनाउन प्रयोग हुने धागो समेत बरामद गरी थप अनुसन्धान भई रहेको ।


