अछाम। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका किशोर विनोद शाहीको शवको पोस्टमार्टमपछि दाह संस्कार गरिएको छ। शाहीको बिहीबार पंचदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कालिका स्थान बेलेखतको कर्णाली नदिमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको हो ।
शव भेटिएको ६ दिनपछि बिहीबार शवको पोष्टमार्टम गरिएको थियो । जिल्ला अस्पताल अछाममा पोष्टमार्टम पछि आफन्तले उनको शव बुझेका थिए । यस्तै विनोदको हत्या भएको भन्दै १३ जनाको नाममा किटानी जाहेरी दर्ता भएको छ। किशोरका आफन्तले उनको हत्यामा संलग्न भएको भन्दै १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिएका छन् ।
नवनिर्वाचित जनप्रतिनिधि लगायतको नाममा किटानी जाहेरी दर्ता भएको बताईएको छ। स्रोतका अनुसार पंचदेवल नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने लगायतका १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको हो । प्रहरीले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै कसका नाममा किटानी जाहेरी दर्ता परेको हो भन्नेबारे जानकारी गराएको छैन । घटनाको अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनास्थलमै खटिएको छ। घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सङ्घीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत परिचालन भएको छ।
घटनाबारे अनुसन्धानका लागी बिभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने र आवश्यक सोधपुछ पछि छोड्ने गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिएका छन् । नेकपा एमालेले नेपाली काँग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाउँदै आएको छ । जेठ १७ गते राती देखी बेपत्ता रहेका विनोदको शव घर नजिकैको कुुच्चि जङ्गलको खोँचमा भेटिएको थियो । मृतक शाहीको न्यायका लागि जिल्लामा लगातार आन्दोलन भइरहेको छ । अछामका प्रमुख जिल्ला अधिकारी मरासेनीले अबको हप्ता दिनभित्र अनुसन्धानको अन्तिम नतिजा आउने दाबी समेत गरे। अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ।
।