कैलाली। सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा अत्याधिक गर्मी बढेको छ । अत्याधिक गर्मी बढेसँगै प्रदेशका कैलाली र कञ्चनपुर लगायत डोटीको दिपायल र अछामको साँफेबगर क्षेत्रको जनजीवन प्रभावित बनेको हो।प्रदेशका तराईंका जिल्लामा अत्याधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ।
नेपालमा आइतबार नै मनसुन भित्रिए पनि सुदूरपश्चिम प्रदेशमा भने अझै मनसुन सक्रिय नहूँदा यहाँको जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मी बढेकाले सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक मारमा परेका छन्।मौसम विभागले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारभन्दा अगाडि मनसुन सक्रिय हुन सक्ने सम्भावना कम रहेको जनाएको छ। सोमबारपछि भने बिस्तारै मनसुन सक्रिय भएर पानी पर्न सक्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईले पूर्वी नेपालबाट मनसुन मुलुकमा भित्रिइसकेकोले कर्णाली र सुदूरपश्चिममा भने सोमबारपछि मात्रै मनसुन सक्रिय हुने बताएकी छिन् ।
यस्तै यता समयमा पानी नपर्दा र अत्याधिक गर्मीले विद्यार्थीहरूसमेत निकै मारमा परेका छन्। कैलालीमा अत्याधिक गर्मीका कारणकक्षा कोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या भैरहेको बिद्यालयहरुले बताएका छन् । अत्याधिक गर्मीमा छिन् छिनमा बत्ती जाने/आउने समस्याका कारण पढाइ नै प्रभाबित हुने गरेको छ । यस्तै शिक्षकले बिद्यार्थीलाई पढाउने बेलामा कापी किताब समातेर हम्कने गर्दा उनीहरूको ध्यान पढाइमा केन्द्रित गर्न समस्या भइरहेको शिक्षकहरुको भनाई छ । अत्याधिक गर्मीले विद्यार्थीको छालामा समस्या पनि देखिएको धनगढी ३ इमरेल्ड एकेडेमीका शिक्षक कृष्ण पाठकले बताए । उनले भने, गर्मीले विद्यार्थीको शरिरमा घमौरा, बिमिरा देखिन थालेको छ। घमौराले गर्दा शरीर चिलाउने गर्नाले उनीहरूको पढाइका बेला ध्यान केन्द्रित हुन नसकेको उनले बताए। विद्यार्थीहरूलाई पढाउनै पर्छ। तर, उनीहरूले गर्मीका कारण सास्ति खेपिरहेका छन्। प्रत्येक कक्षा कोठामा पंखाको व्यवस्था भए पनि विद्युत आउने जाने समस्याका कारण झनै गाह्रो हुनेगरेको छ, उनले भने। विद्यार्थी मात्र होइन अभिभावकलाई पनि गर्मीमा कसरी नानीबाबुलाई विवद्यालय पुगाउने भन्ने समस्या हुने गरेको छ। यता अबिभावक पनी गर्मीका कारण स-साना नानीबाबुलाई स्कुल पुगाउनै गाह्रो हुने गरेको बताउँछन्।
धनगढी ३ की मुना भट्ट बाहिर निस्किएमा आगोले पोले झैँ हुन्छ भन्छिन्। बिहान विद्यालय लैजान त सजिलै हुन्छ। कमै गर्मी हुन्छ। तर, दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चाहरू गर्मीले रातोपिरो हुन्छन्। खलखल्ती पसिना बग्छ, उनले भनीन्। गर्मीका कारण नानीबाबुहरु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको पनि उनले बताएकी छिन्।अत्याधिक गर्मी हुन थालेपछि कैलालीको गोदावरी नगरपालिकाले आजदेखी जेठ ३१ गतेसम्मकालागि पालिकाभित्रका सबै विद्यालयलाई गर्मी बिदा दिएको छ। गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले अत्याधिक गर्मीले विद्यार्थीहरूलाई समस्या हुन थालेपछि नगरपालिका भित्रका सबै विद्यालयलाई बिदा दिने निर्णय गरिएको बताए। यस्तै उता अत्याधिक गर्मीका कारण विद्यार्थी विद्यालयमा बेहोस हुन थालेको भन्दै कञ्चनपुरका स्थानीय तहले विद्यालय बन्द गराएका छन्। अत्याधिक गर्मी बढ्न थालेको भन्दै भीमदत्त नगरपालिकाले जेठ २३ गतेदेखि २७ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो।बेदकोट र बेलडाँडाी गाउँपालिकाले पनि विद्यालय बन्द गराएका छन्। यस्तै अत्याधिक गर्मीका कारण भन्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पनि दुई दिन बिदा दिने निर्णय गरेको छ। हावापानी कार्यालय अत्तरियाको रेकर्ड अनुसार गत वैशाख १३ गतेका दिन अहिलेसम्मकै बढी ४० दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। पछिल्ला दिनहरुमा ४० डिग्री सेल्सियस आसपास तापक्रम पुगेको देखिएको छ। मंगलबार धनगढीको ३९ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको रेकर्ड छ भने बुधबार (आज) ३९ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रहेको तथ्याङ्कले देखाएको छ। हावापानी कार्यालयको यो तथ्याङ्क हेर्दा सुदूर तराईमा गर्मीको मात्रा अत्याधिक रहेको मौसमविद्हरु बताएका छन्।