कञ्चनपुर। जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली काँग्रेसका नेता दुर्गा दत्त बोहरा निर्विरोध भएका छन् । समन्वय प्रमुखमा बोहराको मात्रै उम्मेदवार परेपछि उनी निर्विरोध भएका छन्।
उप प्रमुखमा पनि काँग्रेसका राम कुमारी राना निर्विरोध भएकी छन् । जेठ ३० गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयन दर्ता गरिएको हो। पाँच स्थानीय तह जितेको काँग्रेससित समन्वय समितिका लागि बहुमत भएपछि अन्य दलले उम्मेदवारी दर्ता समेत नगरी निर्वाचन प्रक्रिया बाहिर बसेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्य तर्फ जयसिह विष्ट, राम सिह भण्डारी, मोहन महता, अन्जुदेवी राना, लिला चौधरी, चन्द्रवती थापा र बिमला कुमारी सार्कीको उम्मेदवारी दर्ता भएको छ । विष्ट प्रमुखका आकाँक्षी थिए । काँग्रेसबाट बोहरा, विष्ट सहित महेश चन्द र नर बहादुर साउँदको नाम चर्चामा थियो ।
समन्वय प्रमुख भएका बोहरा २०४९ को निर्वाचनमा काँग्रेसबाट भीनपा ४ को अध्यक्ष निर्वाचित भएका थिए । अध्यक्ष भएको ३० वर्षपछि उनी वडा सदस्य जितेर समन्वय प्रमुख भएका छन् । काँग्रेसमा विद्यार्थी राजनीतिबाट आएका उनी पूर्व महाधिवेशन प्रतिनिधि हुन् । उनी भीनपा ४ भगतपुरका वासिन्दा हुन् ।प्रमुख उपप्रमुख र सदस्य पदमा ९ जनाको मात्रै उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकारी मदन धामीले भने, उहाँहरु नै निबिरोध निर्वाचित भएका छन् । अन्य प्रक्रिया पुरा निर्वाचित भएको धोषणा गरिन्छ ।


