अछाम। अछामको पंचदेवल विनायक नगरपालिकामा १६ वर्षीय किशोर मृत अवस्थामा भेटिएसँगै विनायक क्षेत्र तनावग्रस्त बनेको छ । नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानका १६ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएपछि विनायक क्षेत्र शनिवारदेखि तनावग्रस्त बनेको हो ।
किशोर मृत अवस्थामा फेला परेसँगै आन्दोलित आफन्तहरूले सोमवार विनायक बजारमा नगर प्रमुख अम्बिका चलाउने,अछामका प्रहरी प्रमुख रविराज थपलिया र निवर्तमान वडा अध्यक्ष सज्जन बहादुर शाहीको पुतला दहन गरेका छन्। किशोरको हत्यामा संलग्न रहेको भन्दै नगर प्रमुख चलाउने ,निवर्तमान वडा अध्यक्ष सज्जन शाही र अपराध निम्त्याउन भूमिका खेलेको भन्दै प्रहरी प्रमुख थपलियाको पुतला दहन गरेका हुन् ।
नेपाली कांग्रेस समर्थकहरूले उनको हत्या गरेको भन्दै शनिवारदेखि आन्दोलन गर्दै आएका किशोरका आफन्तले मध्य पहाडी लोक मार्गमा चक्काजाम समेत कायम राखेका छन् । जेठ १७ गते साँझदेखि बेपत्ता रहेका किशोरको शव २१ गते बिहान स्थानीय कुच्ची भिरको खोँचमा फेला परेको थियो । शव भेटिएसँगै नगरप्रमुख चलाउने सहित १८ जनाका नाममा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफन्तहरू आन्दोलनमा छन् । उनीहरूले विनायक बजारमा प्रदर्शन गर्दै नगर उप प्रमुख,प्रहरी प्रमुख निवर्तमान वडा अध्यक्ष,प्रहरी प्रमुख थपलिया सहित प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका छन् भने किटानी जाहेरी दर्ता गर्नुपर्ने माग राखेका छन् ।
वैशाख ३० गते निर्वाचनका क्रममा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबिच विवादसँगै हात हालाहाल हुँदा दुवै पक्षका कार्यकर्ता घाइते भएका थिए । सोही घटनाका बिषयमा जेठ १७ गते पुनः दुवै पक्षबिच गाउँमा विवाद भएको थियो । दुवै पक्षबिच विवाद भएको खबरपछि प्रहरीको टोली गाउँ पसेको थियो । विवादमा संलग्नहरूलाई नियन्त्रण गर्ने क्रममा स्थानीय महिला र प्रहरी बिच समेत धरपकड भएको थियो । धरपकड भएकै बेला देखी १६ वर्षीय किशोर विनोद बेपत्ता भएका थिए । बेपत्ता भएको ५ दिन पछि स्थानीय भीरमा उनको शव भेटिएसँगै उनका आफन्तले नेपाली काँग्रेसका समर्थक कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाएका छन् । विनोदको हत्या हुनुमा प्रहरी प्रशासन समेत जिम्मेवार रहेको र घटनाबारे प्रहरीले बेवास्था गरेको समेत आफन्तको आरोप छ । यता विद्यालय मन्दिर माद्यामिक विद्यालय विनायकमा कक्षा १० मा अध्ययनरत किशोरको मृत्युको विषयलाई लिएर विनायकमा बिद्यार्थीहरुले समेत प्रदर्शन गरेका छन् । हत्यारालाई फाँसी दे,हत्यारालाई पक्राउ गर,किटानी जाहेरी दर्ता गर लगायतका नारा सहित बिद्यार्थीहरुले विनायक बजारमा प्रदर्शन गरेका हुन् ।किटानी जाहेरी दर्ता नहुन्जेल किशोरको शव उठाउन नदिने आफन्तले अडान लिएपछि किशोरको शव घटनास्थलमै रहेको जनाइएको छ ।