कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले अछामका किशोर विनोद शाहीको षडयन्त्रपूर्वक हत्या भएको जनाएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रदेश कमिटीका सचिव धर्मराज पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,यहि जेठ १७ गतेका दिन स्थानीय निर्वाचनका विषयलाई लिएर भएको सामान्य विवाद पश्चात प्रहरीले गाउँमा गरेको धरपकडपछि विनोद शाही बेपत्ता हुनु, प्रहरी समेतको संलग्नता गाउँमा ज्यादतीपूर्ण व्यवहार हुनु र जेठ २१ गतेका दिन निज मृत अवस्थामा फेला पर्नुले निज विनोद शाहीको षणयन्त्रमुलक तरिकाले हत्या भएको देखिन जान्छ’। विज्ञप्तिमा मार्फत उनले घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्न समेत माग गरेका छन्।
अछामको पञ्चदेव विनायक नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानका १६ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएपछि विनायक क्षेत्र शनिवारदेखि तनावग्रस्त बनेको छ। जेठ १७ गते साँझदेखि बेपत्ता रहेका किशोरको शव २१ गते बिहान स्थानीय कुच्ची भिरको खोँचमा फेला परेको थियो।शव भेटिएसँगै नगरप्रमुख चलाउने सहित १८ जनाका नाममा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफन्तहरू आन्दोलनमा छन्। किटानी जाहेरी दर्ता नहुन्जेल किशोरको शव उठाउन नदिने आफन्तको अडान छ।मृतक शाहीको कांग्रेस कार्यकर्ताले हत्या गरेको एमाले कार्यकताले आरोप लगाएका छन्। कांग्रेस नेताको नेतृत्वमा उनको हत्या गरिएको भन्दै मृतकका आफन्तले शनिवार पंचदेवल विनायक नगरपालिकाको विनायक बजारमा प्रदर्शन गर्दै चक्काजाम गरेका छन्।