अछाम। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृत भेटिएका छन् । मृत भेटिएका विनोद शाहीको हत्या भएको भन्दै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका छन् ।
आक्रोशित समूहले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडीमा ढुंगामुढा गरेर तोडफोड गरेको अछामका डिएसपी रविराज थपलियाले बताए । भिडलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । १० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ बस्ने बलबहादुर शाहीको छोरा १७ वर्षीय बिनोदबहादुर शाही शनिबार बिहान १० बजेर २० मिनेटमा मृत भेटिएका हुन् ।जेठ १७ मा राति रिठा टोलबाट हराएका उनको परिवारले प्रहरीलाई जानकारी गराएका छन् । करिब ३०० जनाको समूहले पञ्चदेवल विनायक नगरपालिकाको मुल ढोकामा ताला लगाएर प्रदर्शन गरेका छन् । विवाद बढेपछि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट इन्स्पेक्टर सन्दीप शाह नेतृत्वको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
परिवारले किशोर हराएकोबारे शनिवार बिहान जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दिएका थिए । शनिवार बिहानै पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा उनी मृत फेला परेका हुन् । किशोरको हत्या भएको आशंका गरिएको छ । तर, स्थानीयले प्रहरीलाई घटनास्थलमा जान दिएका छैनन् । स्थिति तनावग्रस्त बनेपछि बिदामा काठमाडौं आएका अछामका डीएसपी रविराज थपलिया जिल्ला फर्केका छन् । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएका इन्स्पेक्टर कैलाश विष्टलाई स्थानीयले शव हेर्न मात्रै दिएका छन् । घटनास्थलको सुरक्षामा पनि स्थानीयले अवरोध गरेका छन् । अछामस्थित इलाका प्रहरी कार्यालय कमल बजारका इन्स्पेक्टर भास्करबहादुर चन्द नेतृत्वको टिम पनि घटनास्थलमा परिचालन गरिएको छ।