कञ्चनपुर। स्थानिय तह २०७९ को निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । सोमवार एक सुचना जारी गर्दै कार्यालयले छिटो दल वा उम्मेदवारलाई निर्वाचनमा भएको खर्च विवरण बुझाउन आग्रह गरेको हो ।
निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरसमक्ष बुझाउनुपर्ने छ । तोकिएकोे समयभित्र नबुझाउने दल वा उम्मेदवारलाई आयोगले निर्वाचन सम्बन्धी प्रचलित कानुन बमोजिम जरिवाना गर्ने जारी सुचनामा उल्लेख छ ।
निर्वाचन आयोगले नगरपालिकाको हकमा प्रमुख वा उपप्रमुखले ४ लाख ५० हजारसम्म र वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले २ लाखसम्म खर्च गर्न पाउने रकमको सीमा तोकेको थियो। यस्तै गाउँपालिकाको हकमा अध्यक्ष वा उपाध्यक्षले ३ लाख ५० हजारसम्म र वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाउने रकमको सीमा तोकेको थियो।