कैलाली। कैलालीमा सवारी साधन तिब्र गतिमा चलाउदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण गर्न लिडार स्पिड गनको प्रयोग गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारीको गति मापन गरि सवारीसाधनको गति नियन्त्रण गर्न लिडार स्पिड गन ( Lidar Speed Gun)को प्रयोग गरेको हो ।
कैलाली जिल्लामा भएको सवारी दुर्घटनाको तथ्याङक, अवस्था तथा प्रकृतिलाई बिश्लेशण गर्दा तिब्र गतिका कारण दुर्घटना भई घाईते, मृत्यु तथा धनजनको क्षति अत्याधिक मात्रामा भएको पाईएकोले सिमा पार गरी सवारी चलाउदा हुन सक्ने ठुलो दुर्घटना तथा धनजनको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही अन्तरगत सोमबार मोहना अत्तरिया ६ लेन सडक खण्ड र कैलालीको पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा सवारी सवारी साधनहरुको तिब्र गति मापन गरिएको छ ।
तिब्र गति मापन गर्दा संचालन भएका १९ वटा सवारी चालक तथा सवारी धनिलाई आवश्यक कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए । गति मापन यन्त्र Lidar Speed Gun को सहायताले तिब्र गतिमा संचालन भएका सवारी साधनहरुलाई कार्बाही गरिएको जानकारी दिए ।
त्यसैगरि गति सिमा सम्बन्धमा बजार क्षेत्रमा तथा व्यस्त सडकमा दुई पाङग्रे सवारी साधनले २० कि.मि प्रति घण्टा भन्दा बढी गतिमा चलाउन नपाउने ,चार पाङग्रे सवारी साधनको हकमा ३० कि.मि. प्रति घण्टा गतिमा मात्र चलाउन पाउने र ६ लेन सडक खण्ड तथा राजमार्ग सडक खण्डमा अधिकतम ४०-६० कि.मि.प्रति घण्टा चलाउन पाउने नियम लागु गरिएको छ।साथै सवारी साधनहरु तिब्र गतिमा नचलाउन सम्पुर्ण सवारी चालक बर्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ । साथै जिल्लामा बिगत भन्दा अहिले ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा उल्लेख्य सुधार भएको तथा ट्राफिक व्यवस्थापनमा ब्रेथलाईजर , ह्वीलक ,लिडार स्पिड गन जस्ता यान्त्रिक उपकरणहरुको प्रयोग भएको प्रहरी निरीक्षक सिंहको भनाई छ ।





