कञ्चनपुर। देश संघीयतामा गएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत पर्ने पुनर्वास नगरपालिकाको मेयर बनेका थिए– जीवनराज थापा ।
त्यसबेला नेकपा एमालेबाट उम्मेदवार बनेका थापाले नेपाली कांग्रेसका तोयप्रसाद शर्मालाई ५२८ मतान्तरले उछिन्दै विजयी भएका थिए । पाँच वर्षे मेयरको कार्यकाल सम्हाल्दै गर्दा उनको राजनीतिक जीवनमा थुप्रै उतारचढाव आए । जुन पार्टीबाट टिकट पाएर थापा मेयर बनेका थिए, त्यो पार्टी नै विभाजन हुन पुग्यो ।
एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन हुँदा थापाले एमाले छोडे । उनी नेकपा एकीकृत समाजवादीको कञ्चनपुर अध्यक्ष बने । यसै क्रममा स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकियो । र, ३० बैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन तय भयो । थापाले फेरी एक कार्यकाल पुनर्वासको मेयरमा दोहोरिने इच्छा देखाए । कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन बनेको थियो ।
बाम गठबन्धनले थापालाई पुनर्वासमा मेयरको साझा उम्मेदवार बनायो । तर, उनी दोस्रो कार्यकाल मेयरमा निर्वाचन हुन असफल भए । थापाका लागि ०७४ मा हारेका कांग्रेसका तोयप्रसाद र एमालेका पदमबहादुर पुजारा तगारो बने ।थापा यसपटकको चुनावमा कमजोर स्थितिमा देखिए । उनी प्रतिस्पर्धी उम्मेदवारसँग प्रतिस्पर्धामै आउन सकेनन् । थापा यसपटक ३ हजार ७३४ मत सहित तेस्रो स्थानमा रहे । उनी मात्रै होइन, कञ्चनपुरमा दोस्रो कार्यकाल दोहोरिन चाहने अन्य ४ जना पालिका प्रमुख र उपप्रमुख पनि पराजित भएका छन् । दोस्रो कार्यकाल कृष्णपुरको उपमेयर बन्ने दौडमा रहेकी एमालेकी रमिता राना सफल हुन सकिनन् । उनी कांग्रेसकी द्रोपदी रानासँग २ हजार ३६० मतान्तरले पछाडी परिन् ।
एमालेबाट बेदकोटकी उपमेयर जितेकी सुशिला चन्द यसपटक मेयरमा भिडिन् । तर उनले पनि नतिजा आफ्नो पक्षमा पार्न सकिनन् । कांग्रेसका भोेजराज बोहोरासँग उनी ३ हजार ३३८ मतले हारिन् । यस्तै, लालझाडी गाउँपालिकाका प्रमुख र उपप्रमुखको जोडीको दोहोरिने सपना पनि चुनावमा चकनाचुर भयो । माओवादीबाट जितेका लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक एमालेका निर्मल रानासँग १ हजार ६५८ मतले हारे ।माओवादीबाटै जितेकी उपाध्यक्ष सत्यदेवी महरा यसपटक तेस्रो स्थानमा झरिन् । उनले २ हजार ७३२ मत मात्रै ल्याउन सकिन् ।
दोहोरिने एक्ला मेयर
दोस्रो कार्यकाल दोहोरिने दौडमा रहेका ६ जना जनप्रतिनिधिमध्ये कञ्चनपुरमा एकजना मात्रै सफल भएका छन् । माओवादीबाट बेलौरी नगरपालिकाको मेयरमा पोतिलाल चौधरी दोहोरिएका छन् । उनी जिल्लाका ९ स्थानीय तहमध्ये दोस्रो कार्यकाल दोहोरिने पहिलो मेयर हुन् । चौधरीले एमालेकी कमला बोहोरालाई १ हजार ९८४ मतान्तरले पराजित गरेका थिए ।
जो दोस्रो प्रयासमा सफल भए
कञ्चनपुरका ९ पालिका प्रमुखमध्ये ७ जना दोस्रो प्रयासमा प्रमुख बन्न सफल भएका छन् । सदरमुकामको भीमदत्त नगरपालिका सहित ७ वटा पालिका प्रमुख ०७४ सालको स्थानीय तह चुनावमा हारेका थिए । उनीहरु दोस्रो प्रयासमा पालिका प्रमुखमा निर्वाचित भएका हुन् । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी ०७४ सालमा एमालेका सुरेन्द्र बिष्टसँग १६६ मतान्तरले पराजित भएका थिए । उनी अहिले एमालेकै उम्मेदवार महेशप्रसाद पन्तलाई ७ हजार ७०३ मतले उछिन्दै भीमदत्तको मेयर बनेका छन् ।
बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, शुक्लाफाँटाका रणबहादुर महरा, कृष्णपुरका हेमराज ओझा, पुनर्वासका तोयप्रसाद शर्मा, दोधारा चाँदनीका किशोर कुमार लिम्बु र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना पनि दोस्रो प्रयासमा पालिकाको नेतृत्वमा पुगेका हुन् । कांग्रेसबाट निर्वाचित बेदकोटका मेयर बोहरा यसअघि एमालेका अशोक कुमार चन्दसँग पराजित भएका थिए । शुक्लाफाँटा नगरपालिकाका नवनिर्वाचित मेयर महरा अघिल्लो चुनावमा कांग्रेसका दिलबहादुर ऐरसँग हारेका थिए । अहिले उनी कांग्रेसकै चिन्तामणि भट्टलाई उछिन्दै मेयर बनेका हुन् ।
यस्तै, कांग्रेसबाट कृष्णपुरमा जितेका ओझा एमालेका कर्णबहादुर हमाल, पुनर्वासका शर्मा तत्कालीन एमालेका जीवनराज थापा, एमालेबाट दोधारा चाँदनीको मेयर जितेका लिम्बु कांग्रेसका बीरबहादुर सुनार र लालझाडीमा एमालेबाट अध्यक्ष बनेका राना माओवादीका मदनसेन बडायकसँग हारेका थिए ।कञ्चनपुरमा ३ जना उपमेयर पनि दोस्रो प्रयासमा सफल भएका छन् । कांग्रेसबाट दोधारा चाँदनीमा उपमेयर जितेकी गंगादेवी जोशी, बेदकोटकी तुलसी जोशी र पुनर्वासकी भुलिया राना यसअघि उपमेयरमा पराजित भएका थिए । अहिले उनीहरुले उपमेयरमा बाजी मारेका छन् ।साभार