धनगढी । कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै बिहीवार गेटा मेडिकल सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको हो।
गेटा मेडिकल सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले ज्ञापनपत्रमा तत्काल मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् ।यस्तै मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउनुपर्ने, मेडिकल कलेज सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिनुपर्ने लगायतका माग राखिएका छन्।
कैलालीको धनगढी र अत्तरियाका स्थानीयले मेडिकल कलेज सञ्चालनका लागि स्वस्फूर्त रुपमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् । मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिमवासी आन्दोलित बनेका छन् । जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरुप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रम रहेको दबाब समूहले जनाएको छ।