दार्चुला। दार्चुलामा एक शिक्षक पक्राउ परेका छन् । नावालिक छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन्।
नौगाड गाउँपालिका–६ धुलिगडाका शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर विषयका शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप छ । शिक्षक धामीलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ ।
पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएकी थिइन् । आरोपित शिक्षक धामीले किशोरीलाई गत सालको फागुन महिनामा पहिलोपटक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । पिडित किशोरीका आफन्तका अनुसार ती शिक्षकले बलात्कार गरेपछि भिडिओ पनि बनाएको र त्यहीँ भिडिओ देखाएर ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गर्ने गरेका थिए ।
यही जेठ ६ गते आरोपित धामीले उक्त भिडिओ आफ्नो एकजना साथीको पर्सनल म्यासेजमा पठाएका थिए । त्यसपछि त्यो उनका साथीले त्यो भिडिओ अरु व्यक्तिहरुलाई सेयर गरेका थिए । यसरी सेयर हुँदै गएपछि भारतको बेङ्गलोरमा बस्ने एकजनाले फेसबुकमा सार्वजनिक गरेका थिए । त्यसपछि यो घटना बाहिरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।