कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाकाले सुत्केरी तथा अशक्त बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। कृष्णपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पद तथा गोपनियताको सपथ कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर हेमराज ओझाले सो कुरा बताएका हुन् ।
मेयर ओझाले नगरभित्रका सरकारी स्वास्थ्य संस्थाबाट बाहिर रिफर हुने सुत्केरी महिला र अशक्त बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। यस्तै कृष्णपुरमा मै सबै किसिमको स्वास्थ्य सेवा पाउने गरी काम गरिने र बिरामीले धनगढी जानु नपर्ने गरी स्वास्थ्य सेवाको बिस्तार गरिने बताए।
‘यस क्षेत्रको स्वास्थ्य समस्या सामाधानका लागि पनि मैले बिशेष प्राथमिकता दिने छु। अहिले सानो समस्या हुँदा पनि धनगढी जानुपर्ने बाद्यता छ। धनगढी टाढा छ एकैदिनमा काम हुँदैन’ उनले भने ‘हामीले यस क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने छौ । धनगढी जानु नपर्ने गरी सेवा विस्तार गर्ने छौ ।’ यस्तै नवनिर्वाचित मेयर ओझाले कृष्णपुर नगरपालिका भित्रका दलित तथा अल्पसंख्यक समुदायका बिद्यार्थीलाई कक्षा १० सम्म निशुल्क शिक्षा, उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीलाई छात्रबृति उपलब्ध गराउने निर्णय पनी गरिएको छ भने ।
कृष्णपुर नगरपालिकाका क्षेत्रमा रहेका थारु समुदायको प्रचलनमा रहेको भलभन्सा, बडघर र चाकर प्रथालाई कानुन निर्माण गरी मान्यता प्रदान गरीने योजना रहेको बताएका छन् । यस्तै सामाजिक सुरक्षा भत्तालाई वडा तहमा बितरण र नगरपालीका भित्रका भुमिहीन दलित सुकुम्बासी र अब्यवस्थीत बसोबासीलाई जग्गाधनी प्रमाणपत्र बितरण गर्ने निर्णय गरिएको जनाइएको छ। उनले अहिले कृष्णपुर क्षेत्रका युवाहरु लागुऔषधमा धकेलिदै गएकाले यसको लागि पनि नगरपालिकाले बिशेष पहल गर्ने बताए। उनले कृषिको सुधार गर्दै वास्तविक किसानलाई मात्रै अनुदान दिईने बताए। कार्यक्रममा बोल्दै उपप्रमुख द्रोपती रानाले आफूलाई निर्वाचित गराएकोमा धन्यवाद ज्ञापन गरिन्। उनले कृष्णपुरलाई नमुना नगर बनाउन आफूले काम गर्ने बताईन् । कृष्णपुर क्षेत्रका जनताका समस्या सामाधानका लागि आफूले काम गर्ने उनले बताईन् । बुधबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका थिए ।