धनगढी। क्षेत्रीय सहरी विकासमार्फत कैलालीको धनगढीमा निर्माण थालिएका सडकको विवाद हटाउने निर्णय गरिएको छ। मंगलवार नगरप्रमुख गोपाल हमाललको अध्यक्षतामा बसेको बैठकले सहिद गेट–क्याम्पस गेट सडकको विवाद हटाउने निर्णय गरेको हो।
उक्त सडकको तीन ठाउँमा विवाद रहेको र विवादित ठाउँका नागरिकलाई बोलाएर छलफल गर्ने निर्णयमा उल्लेख गरिएको छ। उपमहानगरपालिका क्षेत्रमा रहेका क्षेत्रीय सहरी विकासका सडकमा रहेको विद्युत तथा टेलिफोनका पोल र खानेपानीका पाइपहरु व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गर्ने समेत निर्णयमा लेखिएको छ।
धनगढीको मुख्य ट्राफिक चौराहामा रहेको खाल्डो र चौराहादेखि कैलाली पुलसम्मको सडकमा परेका खाल्टाखुल्टी निर्माण कम्पनीले पुर्ने उल्लेख गरिएको छ। धनगढीमा सात सडक एशियाली विकास बैँक एडिबी को ऋण सहयोगमा निर्माण हुँदैछन्। ती १० किलोमिटर सडक निर्माणको ठेक्का कालिका कान्ट्रक्सनले पाएको छ।