धनगढी। धनगढीलाई समृद्ध नगर बनाउन निर्वाचित जनप्रतिनिधिलाई एमाले उम्मेदवार रहेका रणबहादुर चन्दले आग्रह गरेका छन्।
सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी उपमहानगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवार रहेका चन्दले सो आग्रह गरेका हुन् । चन्दले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई समृद्ध धनगढी बनाउने अभियानमा काम गर्न अनुरोध गरे।
पार्टीको प्रतिवद्धतापत्रको मर्मअनुसार कार्य गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेका हुन्। उनले सुशासनसहितको समृद्ध नगर बनाउने गरी काम गर्न आग्रह गरेका छन्। ‘नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानालगायत १९ वटै वडाका अध्यक्ष र सदस्यहरूलाई बधाईसहित शुभकामना व्यक्त गर्दै ‘सुशासनसहितको समृद्ध धनगढी बनाउन साथ सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले छोटो प्रचार–प्रसारको समय, स्वतन्त्र उम्मेदवारको पाँच वर्षदेखिको पूर्वतयारी, एमालेलाई पाँच दलिय गठबन्धनमार्फतको चौतर्फी घेराबन्दी र लामो समय पार्टीको एकता–विभाजन जस्ता कार्यले प्रमुख पदमा हार व्यहोर्नुपरेको बताए । ‘अव्यवस्थित, कमजोर पार्टी संगठन र प्राविधिक कमी–कमजोरी लगायतका कारणबाट यस निर्वाचनमा मैले सफलता प्राप्त गर्न सकिनँ,’ उनले भने, ‘व्यक्ति वा दलको सफलता वा असफलता मुख्य कुरा होइन, मुख्य कुरा हामीले ठूलो बलिदानी र संघर्षबाट स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले सफलता प्राप्त गरेको छ ।’उनले नगरप्रमुखमा भएको पराजयभन्दा पनि उपप्रमुखसहित ६ वटा वडामा अध्यक्षसहित सदस्यहरु निर्वाचित हुनुले आफ्नो विजय भएको बताए। ‘२०७४ को निर्वाचनमा हामीले उपप्रमुख निर्वाचित गर्न सकेका थिएनौं। अहिले उपप्रमुखसहित छ वडामा हाम्रा उम्मेदवार विजयी भएका छन्,’ उनले भने, ‘यसले हाम्रो पार्टीलाई धनगढीमा थप बलियो र सशक्त बनाएको छ। पार्टीभित्र सुधार हुँदै गइरहेको छ।’