अछाम। साँफेबगर नगरपालिका ६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। भागेश्वर एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावलको वडा हो। वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार मीनबहादुर बोहरा विजयी भएका हुन्।
एमालेका उम्मेदवार दुतकला बिष्ट र बोहराको बराबर मत (२२६/२२६)आएपछि पुनः गणना गर्नुपर्ने बताएपछि केहीबेर छलफल भएको थियो। अन्ततः दुवै पक्ष गोलाप्रथा गर्न सहमत भएका थिए। गोलाप्रथाबाट बोहरा विजयी भएका हुन्। एमालेले टिकट नदिएपछि बोहराले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। स्वतन्त्रबाट उम्मेदवारी दिएपछि पाटीले बोहरालाई कारबाहीसमेत गरेको थियो।
टिकटका लागि पाटीले नपत्याए पनि मतदाताले पत्याएको भन्दै उनले खुसी व्यक्त गरे। लामो समय पार्टीका लागि गाउँमै बसेर काम गर्दा एमालेले कुनै पनि मूल्याकंन नगरेको भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिन बाध्य भएको उनले बताए। बोहराले वडाबासीको सुझाब सल्लाहअनुसार नै वडाको विकासका लागी कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए।

