कञ्चनपुर । कञ्चनपुर कृष्णपुरको मेयरमा कांग्रेसका हेमराज ओझा विजयी भएका छन् । कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका हेमराज ओझा १० हजार ४३४ मत सहित विजयी भएका छन् ।
उनी दोस्रो प्रयासमा कृष्णपुरको नगर प्रमुखमा विजयी भएका हुन । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसंग पराजित भएका थिए ।ओझाका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत ल्याए ।
यस्तै, नेकपा एमालेका लोकेन्द्र प्रसाद पन्तले ६ हजार ६७४ र नेकपा एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बलमे ६७५ मत मात्रै ल्याउन सके । यस्तै उपमेयरमा नेपाली कांग्रेसकै द्रोपती रानाले विजयी भएकी छन् । उनले ९ हजार ६७५ मत ल्याइन् । रानाकी निकटतम् प्रतिस्पर्धी एमालेकी निवर्तमान उपमेयर रमिता रानाले ७ हजार ३१६ मत ल्याइन् । उपमेयरमा माओवादीकी गीता मल्लले ६ हजार ८५१ मत प्राप्त गरिन् ।