धनगढी। धनगढीको नेशनल प्याथ ल्याबका प्रवन्धक हरीसिंह धामीले धनगढीको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेमा आश्रमलाई सहयोग गर्ने घोषणा गरेका छन्।
उनले जति मतान्तरले हमाल विजयी हुन्छन्, त्यति नै रकम धनगढीको कुनै आश्रमलाई सहयोग गर्ने बताएका हुन्। धामीले उक्त रकम आफ्नी छोरीको जन्मदिनको अवसर पारेर असार १४ गते हस्तान्तरण गर्ने बताएका छन्।
पछिल्लो मतपरिणाम अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९९७ मतको अग्रता लिएका छन्।
६३ हजार ७१५ मत खसेको धनगढीमा ५१ हजार ६५ मत गन्दा हमालले २२ हजार ५४१ मत पाएका छन्। यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मतसहित हमाललाई पछ्याइरहेका छन्।