कैलाली। भ्रष्टाचार अभियोगमा एक महिना अघिबाट विशेष अदालतमा मुद्दा खेपिरहेका व्यक्ति गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।
नदीजन्य पदार्थ दोहन एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको कसुरमा २०७९ वैशाख २ मा कैद र बिगोरजरिवाना मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका प्रतिवादी कैलालीको मोहन्याल गाउपालिका–२ का निवर्तमान वडाध्यक्ष देवीदत्त उपाध्याय बुधबार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका उपाध्यायले ३ हजार १ सय ३४ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेका धर्म थापा (२७१५) लाई पराजित गरेका हुन् । मुद्दा दायर भएपनि उनले वडाअध्यक्षबाट राजीनामा दिएर पालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए । बुधबार आएको मतपरिणाम अनुसार उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
कैलालीको मोहन्याल गाउँपालिका भएर बग्ने पत्थरगढ, सेते, सालघारी, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीमा हिनामिना गरेको कसुरमा गाउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ठेकेदार, उपाध्यायसहित ७ जना वडाअध्यक्ष र तीन जना वडा सदस्य विरुद्ध ५४ लाख १८ हजार ५ सय ६८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।पालिका अध्यक्ष निर्वाचित उपाध्याय विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को खण्ड क र दफा १७ बमोजिम कसुर गरेको आरोपमा ६ वर्ष देखि ८ वर्ष सम्म कैद, ५४ लाख १८ हजार ५६८ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना तथा हिनामिना भएको रकम असुल उपर गर्नुपर्ने मागदावी लिएको थियो ।
अख्तियारबाट मुद्दा दायर लगत्तै जनप्रतिनिधिहरु स्वतः निलम्वनमा परिसकेका छन् । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले उपाध्याय भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका प्रतिवादी भएको र उनी हाल निलम्बनको अवस्थामा रहेको बताए। ‘वैशाख २ मा अख्तियारले मोहन्याल गाउपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, सदस्य तथा ठेकेदार विरुद्ध नदीजन्य पदार्थ दोहन गरेको कसुरमा बिशेष अदालतमा मुद्दा दायर गरेको थियो, मुद्दा दायर पछि सार्बजनिक पद धारण गरेकाहरु निलम्वनमा छन्, यसबाहेक अरु हामीलाई जानकारीमा छैन ।’
निलम्वनमा परेका व्यक्ति मुद्दाको किनारा नलागेसम्म कुनै सार्वजनिक पदमा रहेर काम गर्न अयोग्य ठानिने अख्तियारले जनाएको छ । तर, स्थानीय सरकार निर्वाचन ऐन २०७३ मा भएको कानुनी छिद्रलाई टेकेर उपाध्यायले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । मुद्दाको किनारा लागेर दोषी ठहरिएको २ वर्ष नपुगेमा मात्रै उम्मेदवारी बन्न अयोग्य हुने व्यवस्था छ । त्यही प्रावधानलाई टेकेर उनले उम्मेदवारी दिएका थिए । तर, निलम्बनकै अवस्थामा उनलाई पछिल्लो पटक निर्वाचित पदको सपथ लिन भने समस्या रहेको अख्तियारका एक अधिकारीले बताए ।
‘भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका व्यक्तिलाई उम्मेदवार बन्न कानुनले रोकेको छैन भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्ति उम्मेदवार बन्न नपाउने भन्नेमा स्थानीय सरकार निर्वाचन ऐन २०७३ को दफा १३ मा केही उल्लेख छैन । तर पद तथा गोपनीयताको शपथ लिन भने मुद्दा किनारा लागेर निर्दोष ठहर भएपछि मात्रै हुनसक्ला । अहिले नै निलम्बनमा परेका व्यक्तिलाई पुनः सार्वजनिक पदमा बहाल रहन मिल्दैन,’ उनले भने। अवैध रुपमा नदीजन्य वस्तु ढुङ्गा, वालुवा उत्खनन गरेर सरकारी राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष दिंवगत नवलसिंह रावलसहितका १४ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।जसमा तत्कालिन वडाध्यक्ष तथा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेर मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्याय र वडाध्यक्ष नन्दराम गिरी पनि आरोपित थिए ।उनी विरुद्धको आरोप यस्तो छ हेर्नुहोस यहाँ क्लीक गरेरhttps://drive.google.com/file/d/1_Q_lvy6wW-TgIJ0ShRlVoXTbKta4P8Hz/view