कञ्चनपुर। कञ्चनपुरको पुनर्वाससहित आठ स्थानीय तहमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । कञ्चनपुरको कञ्चनपुरस्थीत पुनर्वास नगरपालिका–१० मा पुनः मतदान गरिएको हो।
वडा नं १० स्थित विजय माध्यमिक विद्यालयको मतदान स्थलमा नेकपा माओवादी केन्द्रका नेताहरुले फर्जी मतदातालाई मतदान गर्न लगाएपछि मतदान स्थगित गरिएको थियो। आज भएको निर्वाचनमा २ हजार २ सय ३८ मतदाताले मतदान गरेको निर्वाचन अधिकृत किरण जोशीले बताइन्। ‘शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उनले भनिन्। पुनर्वासको मत गणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको र सबै दलका प्रतिनिधिहरुसँग छलफल गरि नगरपालिकाको भवनमा छिट्टै मतगणना सुरु गर्छौं, उनले भनिन्।’
यस्तै राजनीतिक विवाद तथा बिभिन्न कारण गत वैशाख ३० गते स्थगन भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा मंगलबार शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार मंगलबार कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिका–१७, सिरहाको गोलबजार नगरपालिका–११ र सर्लाहीको बरथहवा नगरपालिका–१७, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो।
यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको एक मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्रमा मंगलबार मतदान भएको छ।
राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ। उदयपुरको त्रियुगा नगरपालिका र बाजुराका विभिन्न स्थानीय तहमा निर्वाचनको मिति तय गर्ने वा वैशाख ३० गते भएको निर्वाचनलाई मान्यता दिने भन्नेमा छलफल चलिरहेको छ। स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भइसकेको छ।