धनगढी। धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन्। धनगढी उपमहानगरपालिका मेयरका उम्मेदवार स्वतन्त्र उम्मेदवार गोपाल हमाल र सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडबीच मतान्तर बढ्दै गएको छ ।
अहिलेसम्म ११ हजार १२९ गणना हुँदा हमालले ४ हजार ९६४ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ५९१ मत पाएका छन्। हमाल र वडबीच २३७३ मतको अन्तर छ। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म हमालले फराकिलो मतान्तर बनाइरहेका छन्। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १२१२ मत पाएका छन्।
मेयर पदमा खसेकामध्ये हालसम्म २ हजार २१२ मत बदर भएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार २७३, एमालेकी कन्दकला रानाले २ हजार ९४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ३४२ मत पाएका छन्। यपमेयर पदमा खसेकामध्ये हालसम्म ४ हजार ५०४ मत बदर भएका छन्। धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।