धनगढी। धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । ५५२६ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २ हजार ४३९ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
अहिले मेयरपदमा नृपबहादुर वड (गठबन्धन कांग्रेस) १ हजार ४४६ मत , रणबहादुर चन्द (एमाले) ४९० मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी शान्ति अधिकारीले लिड यथावत राखेकी छिन्। उनलाई स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी र एमालेकी कन्दकला रानाले पछ्याइरहेका छन्।
मतगणना स्थल धनगढी उपमहानगरपालिकामा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।