दार्चुला। दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकोप्टरबाट ल्याइँदैछ।
जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु तिंकरको मत पेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छांगरु प्रस्थान गरेको छ । दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ। मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
नेपालतर्फ बाटो नभएकाले हेलिकोप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो। गत शनिबार छांगरु र तिंकरमा निर्वाचन सामाग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्याइएको थियो । व्याँस गाउँपालिका वडा नम्बर १ का दुई वटा मतदान केन्द्रमा साढे तीन सय बढी मत खसेको छ। मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा १३६ र कैलाशपति आधारभूत विद्यालय छांगरुमा २१० मत गरी कुल ३ सय ५५ मत खसेको थियो। व्याँस गाउँपालिकाका ६ वटै वडामा ५ हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ ।