कैलाली। आज स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदैछ । देशभरका ७५३ वटा स्थानीय तहमा उम्मेदवार चयनका मतदानको सबै तयारी पुरा भएको छ ।
आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा गई मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।निर्वाचनको सबै तयारी पूरा भएको आयोगले जनाएको छ। मतदान स्थलमा सुरक्षा व्यवस्था कडाइका साथ गरिएको आयोगले जनाएको छ ।
निर्वाचनकालागि आवश्यक सामग्रीसहित १ लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ(आफ्नो मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनको लागि भौतिक पूर्वाधारसहित सुरक्षाको सम्पूर्ण प्रवन्ध मिलाइ सकिएको आयोगले जनाएको छ । निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २ सय २१ पदमा प्रतिनिधि छनोट गर्न मतदान गर्दैछन् ।
कुल ३५ हजार २ सय २१ पदमध्ये ३४ हजार ८ सय ८१ पदका लागि १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । ३ सय ९० पदमा भने निर्विरोध निर्वाचित भइसकेको निर्वाचन आयोगले जनाएको छ । यस्तै यता सुदूरपश्चिम प्रदेशमा निर्वाचनको तयारी पूरा भएको छ । यस्तै,सुदूरपश्चिम प्रदेशमा स्थानिय तहको निर्वाचनलाई केन्द्रित गरी शुरक्षा ब्यवस्था चुस्त दुरुस्त पारिएको हो । प्रदेशका ३ सय २७ वटा मतदान केन्द्रलाई अति सम्बेदनशिल मानेर शुरक्षा ब्यवस्था कडा पारिएको हो।
प्रदेशका ८८ वटा स्थानिय तहमा १ हजार १ सय ३५ मतदान केन्द्र र २ हजार १ सय ३ मतदान स्थल छन् । यी सबै मतदान केन्द्रमा ४ वटै शुरक्षा निकाय करिब २५ हजार सुरक्षाकर्मी परिचालन छन् ।सुदूरपश्चिम प्रदेशमा १ उप महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकाका ७ सय ३६ वडा छन् । प्रदेशभर १ हजार १ सय ३५ मतदान स्थल मध्ये ३ सय २७ वटा अति सम्बेदनशिल, ४ सय ९० सम्बेदनशिल र ३ सय ९८ लाई सामान्यमा राखिएको छ ।
शुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी दोस्रोमा म्यादी प्रहरी, तेश्रोमा सशस्त्र प्रहरी र चौथोमा नेपाली सेना रहने छ । यस्तै राष्ट्रिय अनुसन्धानको टिमले सुचना सहजतामा सघाउने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका बरिष्ठ प्रहरी उपरिक्षक भोला रावलले जानकारी दिए। प्रदेशमा ६ हजार १ सय नेपाल प्रहरी, १० हजार १ सय म्यादी प्रहरी, ४ हजार सशस्त्र प्रहरी र करिब ५ हजार बढी नेपाली सेना खटिने जनाइएको छ । मतदानका दिन तथा मतगणनाका बेला हुन सक्ने बिवादलाई मध्यनजर गर्दै बिषेश शुरक्षा अपनाइएको छ। प्रदेशभर बैसाख ३० गते हुने निर्वाचनका लागी शुरक्षाकर्मी बाहेक ४ हजार बढी अन्य कर्मचारी खटिएका छन् । प्रदेशभर १६ लाख बढी मतदाता रहेका छन् ।