कन्चनपुर। नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगर भने मौन अवधिको अवज्ञा गर्दै मतदाताकहाँ पुगेर माओवादीलाई भोट मागेको पाइएको छ ।
उनले निर्वाचन आयोगको मौनअवधिको अवज्ञा गर्दै गृहजिल्ला कञ्चनपुरमा मतदाता भेला गरेर माओवादीको पक्षमा प्रचार गरिरहेकी छन्। बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगिन्। बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्नअंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्।बीना गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि बुधबार दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेकी हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार मदनसेन बडायक विजयी भएका थिए। उनी अहिले पनि माओवादी केन्द्रबाट फेरि उम्मेदवार छन्। बीना त्यही क्षेत्रकी संघीय सांसद हुन्। यस्तै कञ्चनपुर क्षेत्र नं. १ की संघीय सांसद तथा पूर्व मन्त्री बीना मगरले मौन अवधिमा चुनाव प्रसार गर्न गएको विषय अनावश्यकरुपमा अतिरञ्जित गरिएको बताएकी छिन् । पत्रकारसँग कुरा गर्दै लालझाडी गाउँपालिकाको बिनबारीमा गएको बेला एमाले कार्यकर्ताहरुले चुनाव प्रचारमा आएको भन्दै अनावश्यक बखेडा झिकेको उनले बताईन ।
एमाले कार्यकर्ताहरुले बिना मगर त्यहाँ पुगेको बेला होहल्ला गरेका थिए । एमाले कार्यकर्ताहरुले होहल्ला गर्दै वडाध्यक्षलगायतका स्थानीय जनतामाथि आक्रमण गरेको स्थानीयवासीले बताए । स्थितिबारे सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नेकपा माओवादीका नेताहरुले भने उक्त घटनालाई हारको मानसिकताको उपज भएको बताएका छन् । “वडाध्यक्षका उम्मेदवारको घरमा खाना गएका हौं । यो नितान्त व्यक्तिगत भेटघाट थियो । चुनावका लागि भोट माग्न म नै त्यसरी जानुपर्ने स्थिति आवश्यक छैन ।” सांसद मगरले भनिन्, “खाना खान गएको बेला त्यहीँका महिलाहरुसँग पारिवारिक र व्यक्तिगत कुराकानीलाई अनावश्यक इस्यू बनाइएको हो ।”लालझाडीमा पार्टी लोकप्रियता देखेर तर्सिएका तत्वहरुले सुनियोजित तवरले भ्रम छरिरहेको उनले बताईन ।