कैलाली। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सुदूरपश्चिमका सीमा नाका बन्द गरिएका छन्। वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागि मध्यनजर राख्दै सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द गरिएका हुन्।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते राती १२ बजेदेखि वैशाख ३० गते राती १२ बजेसम्म सीमा बन्द गरिएको हो। भारतसँग सीमा जोडिएको गौरीफन्टानाका बन्द भएको छ। कैलालीको चुनावका लागि दुबै देशका सुरक्षा अधिकारीबीच ७२ घण्टा नाका शिल गर्ने निर्णय अनुसार मंगलबारदेखि नाका बन्द भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। यस्तै कैलालीको खक्रौला नाका पनि बन्द गरिएको छ। उनले अत्यावश्यक काम विवाह, दाहसंस्कार, बिरामी रेफर र पेट्रोलियम पदार्थको ओसारपसार नरोकिने जानकारी दिए । यस्तै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पनि बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले सो अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने बताए। यस्तै कञ्चनपुरको गड्डाचौकी नाका पनि मंगरबारराती १२ बजेदेखि नै बन्द भएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ३० गते मतदान सम्पन्न नभएसम्म जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए । निर्वाचनलाई लक्षित गरेर नाका बन्द गरिएको उनले बताएका छन्।कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गर्ने गरिएको छ ।