कैलाली। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी छनौटमै रस्साकस्सी भएको थियो । दलले उम्मेदवार नबनाएको भन्दै धेरैले बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी समेत दर्ता गराए ।
तर, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा १५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले वेवसाइटमा राखेको बिवरण अनुसार दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना निर्विरोध निर्वाचित भएका हुन् । बाजुराको बुढीनन्दा नगरपालिका–४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेद्वार बनेकी २६ बर्षीया बसन्ती चदारा निर्विरोध भएकी छन् ।
यस्तै सोही नगरपालिका–१० मा पनि एमालेकै तर्फबाट उम्मेदवारी दिएकी ६० बर्षीया टुमरा दमाई निर्विरोध भएकी छन् । बाजुराकै त्रिवेणी नगरपालिका–७ कि ६० बर्षीया औलादेवी ल्वार पनि निर्विरोध निर्वाचित भएकी छन् । उनी कांग्रेसको तर्फबाट उम्मेदवार थिइन् । हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी ३६ बर्षीया रुपसरी कामी निर्विरोध भएकी छन् ।
बझाङको साइपाल गाउँपालिका–१ मा कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी ३६ बर्षीया सुरती कामी निर्विरोध निर्वाचित भएकी छन् । साइपाल गाउँपालिकाकै वडा नंं। ४ मा कांग्रेसकै तर्फबाट उम्मेदवार बनेकी ४२ बर्षीया अमरिता कामी पनि निर्विरोध हुने भाग्यमानी महिलाभित्र परिन् ।बझाङकै केदारस्यूँ गाउँपालिका–४ को दलित महिला सदस्य कोटामा स्वतन्त्र उम्मेदवारी दिएकी ५५ बर्षीया कन्थरीदेवी ओखेडालाई पनि चिट्ठा परेको छ । केदारस्यूँकै वडा नं। ७ मा माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यको उम्मेद्वार बनेकी ५३ बर्षीया रम्भुदेवी कामी निर्विरोध भएकी छन् ।
बझाङ जिल्ला सदरमुकाम रहेको जयपृथ्वी गाउँपालिका–४ मा कांग्रेसका तर्फबाट दलित महिला सदस्य कोटामा उम्मेदवारी दिएकी ५५ बर्षीया पुतलीदेवी कामी निर्विरोध निर्वाचित भइन् । सोही नगरपालिका वडा नं। ७ को दलित महिला सदस्य कोटामा एमालेका उम्मेदवार ५३ बर्षीया सन्तोला चुनारा निर्विरोध भइन् ।बझाङकै थलारा गाउँपालिका–६ मा एकीकृत समाजवादीबाट महिला सदस्यको कोटामा उम्मेदवार बनेकी ३४ बर्षीया सुनीतादेवी गिरी पनि निर्विरोध निर्वाचित भइन् । सोही गाउँपालिका–८ मा एमालेबाट ४३ बर्षीया जमुनादेवी खड्का निर्विरोध भइन् । मण्टा गाउँपालिका–७ मा एमालेबाट उम्मेदवार बनेकी ५१ बर्षीया हिमकला दमाई दलित महिला सदस्यको कोटामा निर्विरोध भएकी छन् ।
दार्चुलाको अपीहिमाल गाउँपालिका–३ मा एमालेबाट दलित महिला सदस्य कोटामा उम्मेद्वार बनेकी २४ बर्षीया सोभा टमटा निर्विरोध भएकी छन् । उनी सुदूरपश्चिममा निर्विरोध भएका महिलाहरुमध्ये सवैभन्दा कान्छी हुन् ।दार्चुलाकै मार्मा गाउँपालिका–५ मा एमालेबाटै महिला सदस्य कोटामा उम्मेदवार बनेकी ३४ बर्षीया कमला महता पनि निर्विरोध निर्वाचित भएकी छन् । सुदूरपश्चिम प्रदेशमा कुनै पनि पदमा कुनै पनि पुरुष निर्विरोध निर्वाचित नभएको आयोगले सार्वजनिक गरेको विवरणले देखाउँछ ।
यस्तै बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचन आयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावलीमध्ये ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् । गएको वैशाख ११ र १२ गते दुई दिन ७५३ वटा स्थानीय तह र त्यसका ६ हजार ७४३ वडामा परेको उम्मेदवारीमध्येबाट उनीहरु निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा धेरै १६४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । दोस्रोमा खुला वडा सदस्यतर्फ १०१ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७१ जना महिला सदस्य र ४८ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा ३–३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
एमालेबाट १३८ जना निर्विरोध
निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै नेकपा (एमाले) बाट उम्मेदवारी दिएका जनप्रतिनिधि रहेका छन् । एमालेबाट एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्षसहित १३८ जना निर्विरोध भएका छन् । निर्विरोध वडा अध्यक्षमा एमाले अग्र स्थानमा रहेको छ । उसका ३५ प्रतिशत अर्थात १७ जना वडा अध्यक्ष निर्विरोध भएका हुन् । दोस्रोमा नेपाली कांग्रेसबाट एक गाउँपालिका उपाध्यक्षसहित ११५ जना निर्विरोध भएका छन् । उसले एमालेभन्दा एकजनामात्रै कम १६ जना वडा अध्यक्ष निर्विरोध जितेको छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र) बाट ६० जना निर्विरोध भएका छन् । उसका ३ जना वडा अध्यक्षमात्रै निर्विरोध भए ।
एकीकृत समाजवादीबाट २ अध्यक्षसहित ३५ जना निर्विरोध
दलबाट निर्विरोध हुनेमा पछाडि रहेको नेकपा (एकीकृत समाजवादी)बाट २ जना गाउँपालिका अध्यक्ष र एक जना उपाध्यक्ष निर्विरोध भएका छन् । ३४ जना निर्विरोध भएको एकीकृत समाजवादीका ६ जनामात्रै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ३६ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् । वडा अध्यक्षमा एकीकृत समाजवादी बराबर ६ जना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । आयोगका अनुसार सबैभन्दा कम राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना खुला सदस्य निर्विरोध भएका छन् । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकएक जना दलित महिला सदस्य निर्विरोध भएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।