धनगढी। नेकपा एमालेका एवम् सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीमा एमालेको झण्डा गाडेको भन्दै धनगढी-१९ मा नेपाली काँग्रेसका युवाहरूले नियन्त्रणमा लिएका हुन् ।
प्रदेश सांसद चौधरी आफै सवार रहेको से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका छन् । उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश चौधरीका अनुसार सो गाडी बहुलिया प्रहरी चौकीमा राखिएको छ । साथै घटनाबारे थप अनुसन्धानको काम जारी रहेको उनको भनाइ छ। सांसद चौधरी प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति हुन् । समितिको सभापति भएपछि उनले गाडी सुविधा पाएका थिए ।