कैलाली। आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ ।
आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ । ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ ।
खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले बताए । निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक तालिम सञ्चालन भइरहेको छ । ‘भौगोलिकरूपमा विकट मोहन्याललगायत दुईवटा पालिकामा आजै निर्वाचन अधिकृतलाई नियुक्ति दिई खटाउन थालिएको छ’, मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘अन्य कर्मचारीलाई छिट्टै नियुक्ति दिएर खटाउने काम हुँदैछ ।’जिल्लामा एक उपमहानगरपालिका (धनगढी) छ ।
टीकापुर, लम्कीचुहा, घोडाघोडी, गौरीगङ्गा, भजनी र गोदावरी गरी छ नगरपालिका छन् । बर्दगोरिया, जानकी, जोशीपुर, कैलारी, मोहन्याल र चुरे गाउँपालिका गरी छ गाउँपालिका छन्। मोहन्याल र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका र अन्य पालिका तराई क्षेत्रका पालिका हुन् ।कैलाली जिल्लाका लागि ४० लहर भएको मतपत्रको व्यवस्था गरिएको छ । मतपत्रमा २४० वटा चुनाव चिह्नको व्यवस्था छ । उक्त मतपत्रमा मान्यताप्राप्त राजनीतिक दल, राष्ट्रिय मन्यताप्राप्त नभई जिल्लामा दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि व्यवस्था गरिएका चुनाव चिह्न छन् ।
चुनावी चटारो बढेसँगै गाउँबस्ती यतिबेला चुनावी रौनकले छोपिएका छन् । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षा गरेर बसेका छन् । फलस्वप आफ्नो पक्षमा माहौल बनाउन उम्मेदावारले थालेको घरदैलो अभियानलाई मतदाताले पनि साथ दिइरहेका छन् । निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्न जनता आतुर भएर बसेको स्थानीय पुष्पराज ओझा बताउँछन् ।‘एक पक्षको चुनावीसभा सकिएलगत्तै अर्को पक्षको सभा र भेला भइहाल्छ’, ओझाले भने, ‘भेलामा उम्मेदवारले आफूलाई विजयी बनाएमा सबै समस्या समाधान गरिदिने अश्वासन दिएर जान्छन् ।’ उम्मेदवारहरूले आकर्षक नारा र अश्वासन बाँडेर जाने गरे पनि चुनावका बेला गर्ने गरिएका यी प्रतिबद्धता चुनाव जितेपछि पूरा नगर्ने प्रवृत्तिका कारण उम्मेदवारका प्रतिबद्धताप्रति भने मतदाता विश्वस्त हुन सकिरहेका छैनन् ।‘यस्तै सुदूरपश्चिममा ९ जिल्लाका ८८ वटा स्थानीय तहका, ‘मतदानस्थल ११ सय ३७ र मतदान केन्द्र २१ सय तीन छन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी भोला रावलका अनुसार स्थानीय तह निर्वाचन विस्तृत सुरक्षा योजनाअनुसार मतदान केन्द्रमा ६ हजार बढी नेपाल प्रहरी, १० हजार एक सय ६१ म्यादी, प्रत्येक गाउँपालिकामा २ वटा मोबाईल र प्रत्येक जिल्ला प्रहरी कार्यालयमा दुई वटा रिजव टोलीको व्यवस्था गरिएको छ।’सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा प्रमुख, उपप्रमुख तथा ७ सय ३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य चयनका लागि वैशाख ३० मा निर्वाचन हुनेछ। त्यसका लागि प्रदेशका झण्डै साढे १६ लाखले मतदान गर्न पाउने छन्।