कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेयको मृत्यु प्रकरणमा प्रहरीले २० जनासँग सोधपुछ गरेको छ। बुधबार बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ‘नाइन इलेभन’मा भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय मृत भेटिएपछि २० जनासँग सोधपुछ गरेको हो।
होटलको बेडमै पाण्डेय मृत भेटिएपछि प्रहरीले होटल सञ्चालक कोमल सिंहसहित २० जनालाई पक्राँउ गरेर सोधपुछ गरेको हो। अहिले प्रहरीले उनीहरुमध्ये १९ जनालाई सोधपुछपछि छाडेको जनाएको छ। होटल सञ्चालक लगायतका १९ जनालाई आज छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए। तर, मृतक मुकुलसँगै सुतेका उनका साथी आशिष चन्दलाई भने छाडिएको छैन। उनीमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
चन्द र मुकुल होटलको एउटै कोठामा सुतेका थिए। मृतक मुकुल र चन्द ४०३ नम्बरको कोठामा बसेका थिए। यस्तै मुकुल पढाइका लागि विदेश जाने तयारीमा रहेको पनि खुलेको छ। यही वैशाख २२ गते जापान उड्ने तयारीमा रहेका उनी त्यसअघि साथीहरुलाई पार्टी दिन होटलमा गएको बताइएको छ। तर, अहिलेसम्म घटनाको कारण भने खुल्न नसकेको र प्रहरीले घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।पाण्डेय मृत भेटिएको होटलको कोठामा लागऔषध प्रयोगकर्ताले प्रयोग गर्ने सुई फेला परेको जनाइएको छ ।