सुदूरपश्चिम। निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिन्छु, अन्य सुविधासमेत दिन्छु भनेर आश्वासन दिएको र उक्त आश्वासन चुनावमा मत प्रभाव पार्ने गरी अभिव्यक्त भएकाले स्पष्टीकरण सोधिएको आयोगका अधिकारीहरुले बताएका छन् ।स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरि जनाएका छन् ।
यस्तै, निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री भट्ट र पोखरेल दुबैलाई चौविस घण्टाभित्र स्पष्ट गरी पठाइदिन भनिएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष पोखरेलले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदा निर्वाचन आयोगप्रति अनास्था जगाउने अभिव्यक्ति दिएको र व्यक्ति विशेषलाई भोट मागेको पाइएको आयोगले जनाएको छ । आयोगका अधिकारीहरुका अनुसार ‘आचारसंहिता र पदाधिकारीको नियुक्ति लगायतका विषय, निर्वाचन आयोगप्रति र निर्वाचनकै प्रक्रियामा अनास्था फैलाउने अभिव्यक्ति तपाईंको व्यक्तिगत मत हो कि संस्थागत खुलाई पाउँ’ भनेर सोधिएको छ । यो हेर्नुहोस निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण