धनगढी। स्थानीय तह निर्वाचन २०७९ का लागि सुदूरपश्चिमका सबै जिल्लामा मतपत्र ढुवानी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिमका नौं जिल्लामै मतपत्र ढुवानी भइसकेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको हो।
निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो। नौं वटै जिल्लाका सदरमुकाममा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगिसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए। ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदानका सामाग्री पुगाइएको छ,’ उनले भने, ‘अब मतदान अधिकृतको तालिमपछि निर्वाचनका सामाग्री मतदान केन्द्रमा पठाइने छ।’सुदुरपश्चिमका अन्य विकट क्षेत्रमा पनि मतदानमा खटिने कर्मचारी र मतदानका सामाग्री हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्।
कैलालीको सुगरखालमा भने हेलिकोप्टरमार्फत मतदानका सामाग्री पठाउने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन्। जसमध्ये आठ लाख ३१ हजार ४७० महिला, आठ लाख ६६२ पुरुष र १८ तेस्रो लिङ्गी छन्। सोही सँख्याको आधारमा भन्दा १० प्रतिशत मतपत्र बढी आएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले जानकारी दिए।यस्तै ६० जिल्लामा मतपत्र ढुवानी भएको आयोगले जनाएको हो।
१७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेकोमा केही जिल्लामा सोमबार बिहानै मतपत्र पठाइएको आयोगको जनाएको छ। अब मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर, रामेछाप, सिन्धुली र जनकपुरमा मतपत्र पठाउन बाँकी रहेको आयोगले जनाएको छ। रामेछाप, सिन्धुली र दोलखामा आज बिहान पठाइने आयोगको भनाइ छ।कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ। वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र ढुवानी छ।